logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

घाइते अवस्थामा उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–३, फरहदवामा सोमबार राति घाइते अवस्थामा भेटिएर अस्पताल पुर्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत फरहदवामा सडक छेउमै गम्भीर घाइते अवस्थामा फेला परेका बेवारिसे युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार गर्दा गर्दै मंगलबार बिहानपख मृत्यु भएको हो । अन्दाजी २०/२५ वर्षको र तराई मुलको जस्तो देखिने ती युवकको नाम, ठेगाना खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनायो ।

सोमबार राती पौने १० बजेतिर ती युवकलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याइएको थियो । युवक घाइते भेटिएको स्थान नजिकै खेतमा लडिरहेको अवस्थामा भारतीय नम्वर प्लेट बीआर ३० एई ०४१२ नम्वरको एउटा मोटरसाइकल समेत फेला परेको छ ।

युवकलाई सो मोटरसाइकलले ठक्कर दिएपछि चालक मोटरसाइकल छाडेर भागेको वा युवक आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिपुरको टोली घटनाको अनुसन्धानमा जुटिरहेको छ ।