मलंगवा – सर्लाहीमा निजामती सेवा दिवस–२०७९ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, कर्मचारी मिलन केन्द्रलगायत सरोकारवाला कर्मचारी संघसंगठनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमको संयोजकत्वमा रहेको मूल समारोह समिति मार्फत नै विभिन्न कार्यक्रम गरी भदौ २२ गते निजामती सेवा दिवस मनाउने निर्णय भएको हो । कार्यक्रम अन्तर्गत दिवसको पूर्वसन्ध्यामा भोली भदौ २१ गते आ–आफ्नो कार्यालय परिसरमा सरसफाई गर्ने निर्णय गरिएको कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव सुनिल कुशवाहाले जानकारी दिए ।
उनका अनुसार मुख्य–मुख्य कार्यक्रमहरु दिवसकै दिन भदौ २२ गतेका लागि तय गरिएको छ । २२ गते बिहान प्रभातफेरि गर्ने, प्रत्येक कार्यालयले पहिलो सेवाग्राहीलाई फूलमाला र अविर लगाएर स्वागत गर्ने, आ–आफ्नो कार्यालयका उत्कृष्टमध्ये एक कर्मचारीलाई पुरस्कृत गर्ने र बेलुका जिल्लास्थित सबै सरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै, भदौ २२ गते नै मुख्य कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति मलंगवाको सभा हलमा मन्चको कार्यक्रम गरी २०७८ भदौ २२ गतेदेखि आज भदौ २० गतेसम्म अवकाश प्राप्त कर्मचारीलाई प्रशंसा पत्रसहित सम्मान गर्ने र कर्मचारी मिलन केन्द्रद्वारा तयार पारिएको मिलन डायरी–२०७९ विमोचन गरिने कार्यक्रम छ ।