हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका–४, डुमरियामा रहेको जनता अधारभूत बिद्यालयमा राजनितिक द्वन्द्व देखिएको छ ।
विद्यालयमा निमित्त प्रधानाध्यपक रहेका राहत कोटा अनुदानमा कार्यरत मिना यादवको सरुवा तथा बिद्यालयमा कक्षा कोठा अभावको पूर्ति र शिक्षक पदपूर्तिको माग राख्दै त्यँहा अध्यननरत् बालबालिकाहरु शुक्रबार हरिपूर्वा नगरपालिकामा नारा जुलुस प्रदर्शन गर्दै पुगेका हुन् । विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुँदा पनि राहत कोटा अनुदानमा मिना यादव एक जना तथा वालविकास कोटाका कर्मचारी रीता यादव र अनिता कुमारी यादवले अध्यापन गराइरहेका छन् ।
४ सय भन्दा बढी बालबालिका अध्ययनरत् विद्यालयमा शिक्षकको अभाव र भौतिक संरचनाको कमीका कारणले उनिहरुको भविष्य अन्धकारमा परेको छ । शिक्षकको कमीका कारण अधिकाशं कक्षा खाली रहने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष नोखेलाल रायले राहत कोटामा कार्यरत निमित्त प्रअ मिना यादव पूर्व वडाध्यक्षको बुहारी भएको कारणले विद्यालयलाई राम्रोसँग सचालन गर्ने सोचाइ नभएको र उनी रहुन्जेलसम्म बिद्यालय अव्यवस्थित नै रहने आरोप लगाउँदै यादवलई तुरन्त सरुवा गरी अर्को शिक्षक पठाउन नगरपालिकासँग माग गरेको बताए ।
निमित्त प्रअ मिना यादवले भने राहत कोटामा कार्यरत कर्मचारीको सरुवा नै नहुने शिक्षा ऐन रहेको र बिगत ३ बर्ष देखि आफू त्यस बिद्यालयको निमित्त प्रअ भएर काम गर्दा कुनै पनि बिबाद नभएको दावी गरिन् ।
हाल निर्वाचित वडाध्यक्षले राजनितिक द्वन्द सिर्जना गरी बालबालिकालाई फकाइफुलाई नारा जुलुस गर्न लगाएको यादवले आरोप लगाईन् ।