logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मतदाता नामावलीमा त्रुटी सच्याउनुपरे भदौ १३ देखि १५ सम्म निवेदन दिनुपर्ने


  • उज्यालो अभियान

जिल्ला निर्वाचन कार्यालय सर्लाही ।

मलंगवा – जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली अद्यावधिकबारे बुधबार सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।

मंसिर ४ का लागि तोकिएको निर्वाचन अन्तर्गत जिल्ला निर्वाचन कार्यालयले आयोगको कार्यक्रम अनुसार भदौ १३ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमा नाम सच्याउन निवेदन लिँदै छ । १२ गते वडा कार्यालयसहित निर्वाचन कार्यालय, सदरमुकाम मलंगवामा रहेका जिल्ला प्रशासन, मालपोत, नापी लगायतका कार्यालयमा मतदाताको नामावली टाँसिने र त्यसमा कुनै नामावली त्रुटी भई सच्याउनुपरेमा १३ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय मलंगवामा आएर निवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

निर्वाचन कार्यालयले मृत्यु भएका, बसाई सरेर गएका, नागरिकता रद्ध भएका, नागरिकता त्याग गरेका जस्ता कुराहरुको छानबिन गरी भदौ १९ गतेसम्म मतदाताको अद्यावधिक विवरण निर्वाचन आयोगमा पठाउने कार्यालय प्रमुख पोखरेलले बताए ।