logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राधाकृष्ण शिवालय धर्मशालाको उद्घाटन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–७, डुमडुमेमा निर्मित राधाकृष्ण शिवालय धर्मशालाको सोमबार (हिजो) औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

धर्मशालाको नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराज र लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारीले सोमबार दिउँसो संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कूल ८४ लाख २७ हजार ६०३ रुपैयाँको लागतमा तीन तले धर्मशाला भवन निर्माण गरिएको धर्मशाला निर्माण समितिका अध्यक्ष देवीबन्धु थापा क्षेत्रीले जानकारी दिए ।

सोही धर्मशालामा अहिले गूरुकुल संचालन भइरहेको छ । संस्थाको कोषबाट १८ लाख, नगरपालिकाको १६ लाख, प्रदेश सभा सदस्य बेची लुंगेलीको कोषबाट ४ लाख र अरु रकम दाताहरुबाट चन्दा संकलन गरी धर्मशाला भवन निर्माण गरिएको हो ।

धर्मशाला भवन उद्घाटन समारोहमा नेपाली कांग्रेस लालबन्दीका नगरसभापति प्रशान्त आचार्य, एमाले नेता गोविन्द महत, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी, खानेपानी तथा सरसफाई संस्था लालबन्दीका अध्यक्ष देवनाथ पोखरेललगायतको आतिथ्यता रहेको थियो । यसैबीच, राधाकृष्ण शिवालय धर्मशालामा अहिले १८ महापुराणमध्येको कुर्म महापुराण चलिरहेको छ ।

भदौ १० गतेसम्म महापुराणमा पण्डित नारायणशरण काफ्लेले सुमधुर शैलीमा कथावाचन गरिरहेका छन् ।