सीडीओ कार्यालयमा नागरिकता देखाउँदै गरेकी तारादेवी । (तस्बीर : उज्यालो अभियान)
बबरगन्ज – सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जकी तारादेवी सदा मुसहरले ३९ वर्षको उमेरमा नागरिकता पाएकी छन् ।
वर्षौको संघर्षपछि आइतबार जिल्ला प्रशासन कार्यालय मलंगवाबाट नागरिकता पाउँदा एकल महिला तारादेवीको मुहारमा मुस्कान देखियो । महोत्तरीको गौशाला माईती घर भएकी तारादेवीका श्रीमानको १५ वर्षअघि नै निधन भएको थियो ।
नागरिकता नहुँदा उनले यत्तिका वर्षसम्म एकल महिला भत्ता पाएकी थिइनन् । करिव १ महिनादेखि आवश्यक कागजात जुटाई वडा तथा सीडीओ कार्यालयमा धाएर तारादेवीलाई नागरिकता दिलाउन पाउँदा अत्यन्तै खुसी लागेको मुसहर समुदायका अगुवा युवा एवं भोर संस्थाका अध्यक्ष पचुलाल माझीले बताए ।
नागरिकता बनाइदिन आग्रह गर्दै तारादेवीले वर्षौसम्म धेरै साहुमहाजन तथा गाउँका ठूलाबडाको घरमा गएर निःशुल्क श्रम गरिन् । तर, उनको नागरिकता बनाउन भने कसैले पनि चासो देखाएनन् ।
तारादेवीलाई अहिले भने पचुलाल माझीको अगुवाईमा आवश्यक कागजात जुटाई एक जना आफन्तलाईसनाखत राखेर नागरिकता दिलाइएको हो । एक छोराकी आमा तारादेवीलाई अब एकल महिला भत्ता उपलब्ध गराउन पहल गरिने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताएका छन् ।
बबरगन्जमा अझै ६ जना मुसहर माझीको नागरिकता बन्न बाँकी छ ।