logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आयोगले गरिरहेका कामबारे पत्रकार सम्मेलन गरी जानकारी गराइयो


  • उज्यालो अभियान

लालबन्दी – राष्ट्रिय भूमि आयोग जिल्ला समिति सर्लाहीले जिल्लामा हालसम्म भएका प्रयासहरुबारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

लालबन्दीमा पत्रकार सम्मेलन गरी आयोगले भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासीका लागि गरिरहेको कामहरु बारे जानकारी गराएको हो । आयोगले जिल्लाको बागमती, लालबन्दी, हरिवन, ईश्वरपुर, बरहथवा, हरिपुर र कविलासी नगरपालिका तथा चन्द्रनगर गाउँपालिकासँग सम्झौता गरी काम गरिरहेको आयोगका जिल्ला प्रवक्ता मदनबहादुर विश्वकर्माले जानकारी दिए ।

आयोगले गरेका काममध्ये अहिलेसम्म लालबन्दीमा ३५६ कित्ता र बागमतीमा ८ हजार ७ सय ५७ कित्ता जग्गा नापजाँच भइसकेको पनि जनाएको छ । सम्झौता भएका अन्य ६ पालिकामा पनि प्रक्रियागत कामहरु भइरहेका छन् । पत्रकार सम्मेलनमा आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्लेले भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने गरी काम गरिरहेको बताए ।

वाग्लेले काम गर्ने सिलसिलामा प्रविधि प्रयोग गरेर काम गर्नुपर्दा अहिले विकसित प्रविधि प्रयोग गरी पूर्जा बनाउन सक्ने अमिन र सर्वेक्षक नहुँदा भने समस्या भइरहेको बताए । यस्तै, जग्गा नापचाँज र पूर्जा बाँड्न अत्यन्तै चूनौतिपूर्ण रहेकाले कतिपय जनप्रतिनिधिले यसप्रति उत्सुकता नदेखाउँदा समस्या भइरहेको वाग्लेले गुनासो गरे ।