लालबन्दी – सर्लाहीमा गएरातीको सामान्य वर्षापछि गर्मी केही कम भएको छ ।
गर्मीले जनजीवन अत्यन्तै प्रभावित भइरहेको अवस्थामा राती परेको पानीले केही राहत दिएको हो । तर, यस क्षेत्रमा ठूलो पानी भने पर्नै सकिरहेको छैन् । आज बेलाबेलामा घाम लाग्ने र एकैछिनमा धाम्मधुम्म हुने भइरहेको छ । पर्याप्त वर्षा हुन नसक्दा धान बाली सुकेर गइरहेको छ ।
पप्पसेट चल्ने ठाउँका किसानले महँगीको डिजेल खर्चेर धान खेतमा पानी पटाइरहेका छन् । रातीको पानीले धूलो मरेपनि धानबालीलाई फाईदा हुने गरी पानी पर्नै नसकेको किसानले बताएका छन् ।
प्रतिलिटर १७३ रुपियाँ ५० पैसाको डिजेल खर्चेर धानमा पानी पटाउनु परेको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान राजेन्द्र साहले गुनासो गरे । नहर तथा कुलोको पानी लाग्ने क्षेत्रमा खोलामा पानी घटेकाले पानी पटाउनकै लागि किसानबीच हानाथाप रहेको छ ।
कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेवप्रसाद कुशवाहाले ९० प्रतिसत खेतमा धान रोपाइँ भएपनि पानी नपर्दा खेत चिराचिरा परेर धान बाली नै सुक्न थालेको जनाए । कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ४६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेको छ ।