आज साउन महिनाको पाँचौं तथा अन्तिम सोमबार । आज पनि सर्लाहीका शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनाथीको भीड लागेको छ । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ । आजको दिन महिलाहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् । सर्लाहीसहित देशैभरका शिव मन्दिरमा अघिल्ला सोमवारमा झैँ व्रतालु महिलाहरुको भीड लागेको हो । जिल्लाको लालबन्दीस्थित डुमडुमे महादेव मन्दिर, पत्थरकोटको जलकेश्वर महादेव मन्दिर, ईश्वरपुरको सागरनाथ महादेव मन्दिर, हरिवनको चुर्तूभुजेश्वर र कैलाशपुरी महादेव मन्दिर, मूर्तियाको मुक्तेश्वर बाबाधाम, फरहदवाको जंगमुक्तेश्वर महादेव मन्दिरसहित जिल्लाभरका सबै शिव मन्दिरहरुमा बिहानैबाट व्रतालुहरुको भीड लागेको हाम्रा संवाददाताहरुले जनाएका छन् । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू मन्दिर पुगेका हुन् ।