अध्यक्षका उम्मेदवार क्रमश : योन्जन, श्रेष्ठ र पोखरेल ।
लालबन्दी – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको नयाँ नेतृत्व चयन गर्न आज भएको मतदानमा जम्मा ४७ सय ४५ मत खसेको छ ।
६८ सय ३५ उपभोक्तामध्ये ६९ दशमलव ४२ प्रतिसत अर्थात् ४७ सय ४५ उपभोक्ताले मत खसालेका हुन् । निर्वाचन समितिका संयोजक गोपाल थापाले तीनवटै मतदानस्थलमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शान्तपूर्वक रुपमा मतदान सम्पन्न भएको उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार तीनवटै स्थानको मतपेटिका संकलन गरी संस्थाको केन्द्रीय कार्यालय लेखाली चौरमा जम्मा पारिसकिएको छ ।
अब उम्मेदवारहरुलाई राखेर छलफल गरी आचारसंहिता तय गर्ने र राती खाना खानेबित्तिकै मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक थापाले बताए । खानेपानीको निर्वाचन अन्तर्गत वडा नं. ३, ४ र ५ का उपभोक्ताका लागि शिशु कल्याण जनता मावि हरिभवन, वडा नं. ६, ७, ८ र ९ का उपभोक्ताका लागि खानेपानीकै केन्द्रीय कार्यालय लालबन्दी ६ लेखाली चौर र वडा नं. १०, ११, १२ र १३ का उपभोक्ताका लागि हीरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको थियो ।
नगरका ११ वटा वडामा खानेपानी वितरण गर्दै आइरहेको खानेपानी संस्थाको ४ बर्षे कार्यकालको अध्यक्षका लागि नेपाली कांग्रेसबाट इन्द्र योन्जन, माओवादी केन्द्रबाट हेमबहादुर श्रेष्ठ (श्याम) र स्वतन्त्रबाट देवनाथ पोखरेलको उम्मेदवारी परेको छ । निर्वाचन समितिले योन्जनलाई करुवा, श्रेष्ठलाई घर र पोखरेललाई चश्मा चुनाव चिन्ह प्रदान गरेको थियो ।
चुनावमा नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) सँग र नेकपा माओवादी केन्द्रले जसपा र लोसपासँग तालमेल गरेका छन् भने स्वतन्त्र भन्दै उम्मेदवारी दिएका पोखरेललाई एमाले र राप्रपाको समर्थन छ ।
खानेपानीको यो निर्वाचनमा दल तथा उम्मेदवारले निकै तडकभडकसहित प्रचारप्रसार गरेको भन्दै चौतर्फी आलोचन भइरहेको छ । दलहरुले खानेपानीकै चुनाव भएपनि यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।