logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

शिक्षक लाइसेन्सको परीक्षा दिन आएकाको बिजोग : विद्यालयका कक्षाकोठा र होटलको बरन्डामा बास


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा निम्न माध्यमिक तह (निमावि) शिक्षकको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिन आएकाको हरिबिजोग भएको छ ।

बास नपाएर परीक्षा दिन आएका धेरै उम्मेदवार विद्यालयको कक्षाकोठा, होटलको बरन्डालगायतका ठाउँमा सुतेर कष्टकर किसिमले रात काट्न बाध्य भएका छन् । शिक्षक सेवा आयोगले आज सर्लाहीसहित देशभर एकैसाथ बिहान ८ बजेदेखि ९ बजेसम्म निमावि शिक्षकका लागि अध्यापन अनुमति पत्रको परीक्षा लिएको हो ।

आफ्नो विद्यालयमा परीक्षा केन्द्र परेका करिव ४० जनाले कतै बास नपाएपछि बाल विकास भवनको दुईवटा कोठामा सुताएको महादेव जनता माध्यमिक विद्यालय हरिवनका प्रधानाध्यापक जयशङ्कर सिंहले जानकारी दिए । हरिवन बजारका सबै होटल भरिभराउ भएपछि राती १० बजेसम्म पनि बास नपाएर सडकमै अलपत्र परेका उम्मेदवारलाई विद्यालयमा ल्याएर राखिएको प्रधानाध्यापक सिंहले बताए ।

“परीक्षा दिन आएका उम्मेदवारले सबैतिर चाहार्दा पनि बास नपाएपछि हामीले विद्यालयमा ल्याएर सुतायौँ, त्यसमध्ये कतिपय स–साना बच्चाका आमाहरु पनि हुनुहुन्थ्यो,” प्रधानाध्यापक सिंहले उज्यालो अभियानसँग भने, “शिक्षक सेवा आयोगले यस्तो भद्रगोल किसिमले परीक्षा केन्द्र तोक्न हुँदैनथ्यो, उम्मेदवारलाई बस्न र खानको सुविधा छ छैन त्यो हेर्नुपथ्र्यो ।”

परीक्षाको समय बिहानै राखिएकाले टाढा–टाढाका उम्मेदवारलाई अघिल्लो साँझमै परीक्षा केन्द्र नजिकमा आएर बास बस्न होटल नपाउँदा यस्तो समस्या भएको हो । शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाका लागि सर्लाही जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएका थिए । यहाँ राजविराज, सिरहा, जनकपुर, वीरगन्जलगायत स्थानका पाँच हजार बढी उम्मेदवार आएर परीक्षा दिइ फर्किसकेका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जनज्योति बहुमुखी क्याम्पस परीक्षा केन्द्रका केन्द्राध्यक्ष बासुदेव तिमल्सिनाले लालबन्दीमा परीक्षा दिन आएकाहरुले पनि बाँसको समस्या भोग्नु परेको बताए । “यहाँ रहेका सबै होटलका कोठा भरिभराउ भएपछि धेरैले बास नपाएको गुनासो आयो, हामीले होटल सञ्चालकहरुलाई भनेर बरन्डामा भएपनि राखिदिन आग्रह ग¥र्यौँ, केहीलाई पत्थरकोटमा खुलेको रिसोर्टमा समेत लगेर राख्यौँ,” प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले भने ।

परीक्षा सञ्चालन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सर्लाहीका २० वटै परीक्षा केन्द्रमा सौहार्दपूर्ण किसिमले परीक्षा सकिएको जानकारी दिए ।