अध्यक्षका उम्मेदवार क्रमश : योन्जन, श्रेष्ठ र पोखरेल ।
लालबन्दी – लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोली (शनिबार) २८ गते हुने निर्वाचनका लागि गएराती १२ बजेबाट मौन अवधि सुरु भएको छ । यो अवधिमा अब उम्मेदवारलगायत कसैले पनि चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् ।
खानेपानीको नेतृत्व चयनका लागि भोली २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । खानेपानीको अध्यक्षका लागि नेपाली कांग्रेसबाट इन्द्र योन्जन, माओवादी केन्द्रबाट हेमबहादुर श्रेष्ठ (श्याम) र स्वतन्त्रबाट देवनाथ पोखरेलको उम्मेदवारी परेको छ ।
निर्वाचनमा नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) सँग र नेकपा माओवादी केन्द्रले जसपा र लोसपासँग तालमेल गरेका छन् । स्वतन्त्र भन्दै उम्मेदवारी दिएका पोखरेललाई भने एमाले र राप्रपाको साथ छ ।
लालबन्दी खानेपानीको नियमित महशुल तिरेका र ब्ल्याक लिष्टमा नपरेका ६ हजार ८ सय ३४ जना उपभोक्ता छन् । उनीहरु नै भोली हुने निर्वाचनको मतदाता हुन् । लालबन्दी नगरपालिकाको ११ वटा वडामा खानेपानी वितरण हुँदै आएको छ ।
निर्वाचन समितिले भोलीको निर्वाचनका लागि मतदान स्थल समेत तोकेको छ । वडा नं. ३, ४ र ५ का लागि शिशु कल्याण जनता मावि हरिभवन, वडा नं. ६, ७, ८ र ९ का लागि खानेपानीकै कार्यालय लालबन्दी ६ लेखाली चौर र वडा नं. १०, ११, १२ र १३ का लागि हीरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएका छन् ।