logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवन खानेपानीमा अनियमितताको गुनासो, वडाध्यक्षको संयोजकत्वमा छानबिन समिति गठन


  • उज्यालो अभियान

हरिवन खानेपानीको बुधबार भएको भेला । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा खानेपानी उपभोक्ता समितिले अनियमितता गरेको गुनासो चर्को रुपमा उठेपछि छानबिन समिति गठन गरिएको छ ।

हरिवन नगरपालिका वडा नं. ८ र ११ मा खानेपानी वितरण गर्दै आइरहेको समितिभित्र अनियमितता भएको र स्पष्टसँग हरहिसाब देखाउन नसकेको भन्दै छानबिनको माग भएपछि बुधबार भएको भेलाले हरिवन–८, का वडाध्यक्ष प्रज्वल ढुंगाना संयोजक रहेको ११ सदस्यीय छानबिन समिति गठन गरेको हो । हरिवन खानेपानीको साधारण सभा अन्तर्गत साउन १५ गते खुल्ला सत्र भएको थियो ।

त्यसदिन नयाँ नेतृत्वका लागि सहमती जुट्न सकेन । बरु अनियमितताको कुरा उठ्दा फरक समूहबीच कुर्सी हानाहानको स्थिति सिर्जना भएको थियो ।

त्यसपछि नयाँ नेतृत्व चयनका लागि बुधबार साउन २५ गते बन्द सत्र गर्ने सहमती भएको थियो । तर बुधबार पनि नयाँ नेतृत्वमा सहमती जुट्नुका साटो समितिभित्रकै सदस्यले अनियमितताको कुरा उठाएपछि छानबिन समिति गठन गरिएको हो ।

हरिवन खानेपानीको नेतृत्व थुप्रै वर्षसम्म हालका प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले गरेका थिए । २०७४ सालमा प्रदेश सांसदको टिकट पाएपछि उप्रेतीले राजिनामा बुझाएका थिए ।
त्यसपछि २०७४ सालमा नै स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्ष यज्ञविनोद ढुंगेल आफैले खानेपानीको समेत अध्यक्ष भएर ५ वर्ष चलाए ।

गन्जगोलको स्थितिका कारण खानेपानीले नयाँ नेतृत्व पाउन सकेको छैन् भने संंस्थामा अनियमितता र अन्य बेथितिका कुराहरु उठिरहेका छन् ।