logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

वडा कार्यालय आउँदा बाढीले बगाउने डर, ४ घन्टा खोलामा हेलिनुपर्ने बाध्यता


  • उज्यालो अभियान

जनार्जन खत्री/लालबन्दी – नारायणखोलास्थित कपासे गाउँकी सोममाया वाईबा सोमबार दुधे बालक काँखमा च्यापेर लालबन्दी बजारमा रहेको वडा कार्यालयमा बाल पोषण भत्ता नवीकरण गर्न आईन् ।

सोमबार मध्यान्ह १२ बजेतिर लालबन्दीस्थित मरिण चोक नजिकै रहेको वडा कार्यालयमा भेटिएकी वाईबाले ४ घन्टा बढी खोलै–खोला पैदल हिँडेर पत्थरकोटसम्म आएको र त्यहाँबाट गाडी चढेर लालबन्दी आएको सुनाईन् । “ बाबुको भत्ता नवीकरण गर्न आएको सर, बिहान आउँदा त खोला सानै थियो, चार घन्टा हिँडेर पत्थरकोट आइपुगेँ, अब भरै जाँदा खोला बढ्ने हो की !” मनमा रहेको डर पोख्दै सोममायाले भनिन्, “हाम्रोतिर त हिजोआज बर्खामा असाध्य समस्या छ, गाडी चलेको छैन्, हिँडेरै आउन पनि खोलाले छेक्छ, छोराको भत्ता नवीकरण नगरी नहुने भएर डराई–डराई लालबन्दी आएको ।”

सोममायाले सोमबार मध्यान्ह भरै पानी परेर खोलाबाढी आई छेक्ने हो की ! भनेको २ घण्टा नबित्दै दिउँसो २ बजेतिर नारायणखोलासहित जिल्लाको उत्तरी भेगमा ठूलै पानी पर्यो । सोमबार लाग्ने लालबन्दीको हाट बजारमा बजार भर्न आएका र सुरक्षा भत्ता नवीकरण गर्न लालबन्दीमा संचालित वडा कार्यालयसम्म झरेका नारायणखोलावासी बाढीमा हेलिएर जोखिमपूर्ण किसिमले साँझ अबेर घर पुगेका छन् ।

बाढी आएपछि केही त पत्थरकोटमै पनि बास बसेका छन् । सर्लाही जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने नारायणखोलामा अढाई महिनादेखि यातायात ठप्प हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।
जिल्लाको ‘कर्णाली’ भनी चिनिने नारायणखोलामा सडक नपुगेका कारण बजारसम्म आउन खोलाको बगर प्रयोग गर्नुपर्छ । बर्खायाम सुरु भएर खोलामा बाढी आउन थालेपछि गएको जेठ दोस्रो सातादेखि नारायणखोलामा गाडी चल्न सकेका छैनन् ।

लालबन्दी नगरपालिका वडा नं. १४ मा पर्ने नारायणखोलाका स्थानीयले बर्खायाममा बर्सेनि यसप्रकारको कष्ट बेहोर्दै आएका छन् । नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले हिजोआज नारायणखोलादेखि लालबन्दीसम्म आउन निकै मुस्किल रहेको गुनासो गरेका छन् ।

केही दिनदेखि चुरेभेगमा दिनहुँजसो पानी परिरहेका कारण स्थानीयहरुलाई पैदल हिँडेर बजार झर्न पनि समस्या भइरहेको घिसिङले सुनाए । “चुरे क्षेत्रमा दिनहुँजसो पानी परिरहेको छ, आईतबार दिउँसो म आफै पनि नारायणखोलाबाट भिज्दैभिज्दै लालबन्दी आए, मेरै अगाडि तीन÷चार जना केटा मिलेर मोटरसाइकल खोला तार्दै थिए,” वडाध्यक्ष घिसिङले उज्यालो अभियानसँग गुनासो पोख्दै भने, “यहाँका वासिन्दाको अवस्था यस्तो दर्दनाक छ सर हामीले केही गर्न सक्ने अवस्था नै छैन्, त्यहाँ अहिले गाडीघोडा केही चलेको छैन्, हिँडेरै बजार आउँन नत भन्दा पनि खोलामा बाढी आएर आउन सक्ने अवस्था छैन् ।”

खोलाबाढीले गर्दा नारायणखोलाका ज्येष्ठ नागरिक र अन्य लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लालबन्दी बजारमा रहेको वडा कार्यालयसम्म आउन समस्या भइरहेको छ । पाखोभित्तामा बस्ती रहेकाले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सक्ने अवस्था पनि नरहेको जनप्रतिनिधिले बताएका छन् ।

नारायणखोलाबाट लालबन्दी बजारसम्म आउनुपर्दा वडा नं. १३ पत्थरकोट छेडा गाउँसम्म पैदल हिँड्नुको विकल्प छैन् । पत्थरकोटदेखि लालबन्दी बजारसम्म भने टेम्पो र अन्य गाडी चल्ने गरेका छन् ।

गाउँमा इन्टरनेट नरहेको, फोटोकपी गर्न समस्या रहेको जस्ता कारण देखाउँदै नारायणखोलाका वडाध्यक्ष र वडा सचिव लालबन्दी बजारमा नै वडा कार्यालय सञ्चालन गरेर बसेका छन् । डाईनीतर्फबाट मोटरदोभान जान र मोटरदोभानतर्फका लाई डाईनतर्फ जानु भन्दा बरु लालबन्दीमै वडा कार्यालय राख्दा सहज हुने देखेर लालबन्दीमै बसेको जनप्रतिनिधिहरु बताउँछन् ।

सिन्धुलीसँग सीमा जोडिएको नारायणखोलाको माथिल्लो भेगका वासिन्दालाई पत्थरकोटसम्म पैदल हिँडेर आउन चारदेखि पाँच घन्टासम्म लाग्ने गरेको छ । बाढी आउँदा पैदल हिँड्नै पनि समस्या छ ।

दुई महिनादेखि यातायात ठप्प हुँदा नारायणखोलावासीलाई बजारसम्म किनमेल गर्न र औषधि उपचार गर्न आउन समेत समस्या भइरहेको नारायणखोलाको सत्रकठ्ठा गाउँका स्थानीय गंगा मगरले बताए । मगरका अनुसार खोला घटेको बेला कहिलेकाँही ट्याक्टर चल्ने गरेका छन् ।

“ट्याक्टरले दाल, चामल लिएर आएपनि बारम्बार फस्ने र चुरेमा पानी पर्नासाथ बाढी आएर ट्याक्टर नै बगाउला जस्तो हुन्छ, पैदल हिँड्न पनि उत्तिकै जोखिम छ,“ मगरले सोमबार साँझ उज्यालो अभियानसँग कुरा गर्दै भने, “यहाँ बर्सेनि बर्खायाममा यस्तै समस्या हुन्छ, हिउँद लागेपछि मात्रै खोलाको बगरबाटै बस चल्छन्, त्यसबेला भने केही राहत मिल्छ ।”

चुरेपाखातिर दिनहुँ पानी परेर खोलामा बाढी आइरहेकाले केही दिनदेखि खाद्यान्न लिएर जाने ट्याक्टर पनि चल्न नसकेका वडाध्यक्ष घिसिङले जानकारी दिए । “पानी नपर्दा एउटा टेलरमा ट्याक्टरको दुईवटा इन्जिन (टेलर बिनाको अघिल्लो भाग) जोडेर पनि चलाउने गरिएको थियो तर अहिले त बाढी आएर त्यसरी पनि ट्याक्टर चलाउन सकिएको छैन्,” वडाध्यक्ष घिसिङले भने ।

बाढी आएको दिन त्यहाँका विद्यार्थी तथा शिक्षकलाई विद्यालयसम्म पुग्न र सामान्य किसिमका बिरामीलाई नारायणखोलाकै मोटरदोभानमा रहेको स्वास्थ्य चौकीसम्म पुग्न पनि समस्या हुने गरेको छ । लालबन्दी बजारसम्म आउन नारायणखोलाको पश्चिमी भेगका वासिन्दाले डाईनी खोला र पूर्वी भेगका वासिन्दाले लखन्देही खोलाको बगर प्रयोग गर्दै आइरहेका छन् ।

अत्यन्तै भौगोलिक विकटता र चुरेका पहाडै–पहाड रहेकाले नारायणखोलासम्म सडक पु¥याउन नगरपालिकाले मात्रै नसक्ने नगरका जनप्रतिनिधिले बताउँदै आएका छन् । नगरपालिकाले केही वर्षअघि देखि त्यहाँसम्म कच्ची बाटो पु¥याउन प्रयास गरेपनि उल्लेख्य प्रगति हुन सकेको छैन् ।