देवनाथ पोखरेल ।
लालबन्दी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साउन २८ गते हुन लागेको खानेपानी तथा सरसफाई संस्था लालबन्दीको निर्वाचनमा स्वतन्त्र उम्मेदवार देवनाथ पोखरेललाई सहयोग गर्ने भएको छ ।
राप्रपा लालबन्दी नगर कमिटीका अध्यक्ष गंगाप्रसाद चौलागाईंले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतिस्पर्धामा रहेका अध्यक्षका तीन उम्मेदवारहरुबीच तुलना गर्दा पोखरेलबाट संस्थाको दीगो व्यवस्थापन र फजुल खर्च नियन्त्रण संभव हुने आश राखेर उनलाई सहयोग गर्ने निर्णय भएको उल्लेख गरेका छन् । चौलागाईंले विज्ञप्तीमा पोखरेलको चश्मा चुनाव चिन्हमा मतदान गर्न आग्रह समेत गरे ।
स्वतन्त्र भनी उभिएका पोखरेललाई नेकपा एमालेले पनि सहयोग गरेको छ । एमालेले पोखरेललाई सहयोग गर्दै अध्यक्षमा आफ्नो आधिकारिक उम्मेदवार उठाएको छैन् ।
साउन २८ गते हुन लागेको खानेपानीको निर्वाचनमा कांग्रेसले इन्द्र योन्जन र माओवादी केन्द्रले हेमबहादुर श्रेष्ठ (श्याम) लाई अध्यक्षमा उठाएको छ । कांग्रेसले नेकपा (एकीकृत समाजवादी) सँग र नेकपा माओवादी केन्द्रले जसपा र लोसपासँग तालमेल गरेको छ ।
निर्वाचन समितिले आइतबार मात्रै कांग्रेसका योन्जनलाई करुवा, माओवादीका श्रेष्ठलाई घर र स्वतन्त्रबाट प्रतिस्पर्धामा रहेका पोखरेलाई चश्मा चुनाव चिन्ह प्रदान गरेको हो ।
