logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा माओवादीभित्र कलह, एकले अर्को पक्षलाई पार्टीबाट निकाल्ने होड


  • उज्यालो अभियान

हरिवन, साउन १४ – सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रभित्र रँडाको मच्चिँदै गएको छ ।

यहाँ पार्टीभित्रकै एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्नेदेखि पार्टीबाट निकाल्नेसम्मको गतिविधि भइरहेका छन् । पार्टीभित्रको विवाद छताछुल्ल भई बाहिरिएको छ ।

एकले अर्कालाई कारवाही गरेको भन्दै सिलसिलेबार पत्र आइरहेका छन् । श्रोतका अनुसार तत्कालिन माओवादी र जनमोर्चाबीचको विवाद बढेर अहिले एक पक्षले अर्को पक्षलाई गन्दै नगन्ने अवस्था सिर्जना भएको हो ।

माओवादी पक्षीय नेता एकातर्फ र जनमोर्चा पक्षीय नेता अर्कोतर्फ लाग्दा पार्टीभित्र द्वन्द्व चर्किदै गएको हो । केही दिनअघि माओवादी नगर सचिवालय सदस्य फडिन्द्र अधिकारीले आफू संयोजक रहने गरी समान्तर कमिटी गठन भएको भन्दै एक पत्र सार्वजनिक गरेपश्चात दुई पक्षले एक अर्काविरुद्ध सिलसिलेबार रुपमा पत्र लेख्दै सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ ।

शनिबार दुवै पक्षले शुक्रबारकै मितिका फरक–फरक पत्र सार्वजनिक गर्दै एकले अर्कालाई पार्टीबाट निकालेको उल्लेख गरेका छन् । माओवादी हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले सार्वजनिक गरेको पत्रमा नगर कमिटी सचिवालय सदस्य फडिन्द्र अधिकारीलाई एक वर्षसम्मका लागि पार्टीबाटै निष्काशन गरिएको उल्लेख गरेका छन् ।

अनुशासन उल्लंघन गरेको र पार्टीलाई कमजोर बनाउन समानान्तर कमिटी गठन गरी सामाजिक संजालमा प्रचारप्रसार गर्दै हिँडेको भन्दै माओवादीको नगर कमिटी सचिवालय सदस्य अधिकारीलाई पार्टीबाटै निकालिएको हो । सचिवालयको विस्तारित बैठकले पार्टीको विधान २०७८ को धारा ५६ अनुसार कारवाही गर्दै अधिकारीलाई एक वर्षका लागि नगर कमिटीबाट निष्काशन र पार्टी सदस्यता निलम्बन गर्ने निर्णय भएको पन्तले बताएका छन् ।

पन्तले अधिकारीमाथि भएको कारवाहीको पत्र सार्वजनिक गर्दै एक वर्षको अवधीमा सच्चिएर आफूले गरेको गल्तीलाई आत्मआलोचना गरेमा पार्टीले पुर्नविचार गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।

पन्तको यो पत्रलाई ‘काउन्टर’ दिँदै समानान्तर नगर कमिटीका संयोजक अधिकारीले नगर कमिटी अध्यक्ष अर्जुन पन्तलगायतका नेतालाई पार्टीबाट निकालिएको पत्र सार्वजनिक गरेका छन् ।

नेता तथा कार्यकर्तामाथि भ्रम पैदा गर्ने गरी पार्टीको लेटरप्याड र छाप बारम्बार दूरुपयोग गरेर आफूमाथि गम्भीर आरोप लगाउँदै कार्यकर्तामाथि निराशा छाउने गतिविधि गरेको भन्दै नगर कमिटी अध्यक्ष अर्जुन पन्त, नगर कमिटी सचिव गौरी महतो, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष विवेक मैनालीलाई एक वर्षका लागि पार्टीबाट निकालेको अधिकारीले निकालेको पत्रमा उल्लेख छ ।

अधिकारीले पन्त, महतो र मैनालीले नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको र पार्टीलाई कमजोर बनाउन कथित गतिविधि गर्दै स्थानीय निर्वाचनमा पार्टीलाई हराउन भूमिका खेलेकाले पार्टीबाट निकाल्नु परेको पत्रमा भनिएको छ । यदि सच्चिएर आफूले गरेको गल्तीलाई आत्मआलोचना गरी आगामी भदौ १५ गते हुने पार्टीको नगर कमिटीको नगर सम्मेलनमा सहभागी भएमा पार्टीले पुर्नरविचार गरी उचित जिम्मेवारी दिने अधिकारीले पत्रमा लेखेका छन् ।

दुई पक्षबीचको यो विवादका कारण हरिवनमा माओवादी केन्द्रको आधिकारिक पक्ष ? कुन हो भन्नेमा नै अन्यौलता देखिएको छ । प्राप्त जानकारी अनुसार समानान्तर कमिटी गठन गर्नुभएका अधिकारीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षको र पन्त समूहलाई नेता नारायणकाजी श्रेष्ठ पक्षको साथ छ ।

अन्तरघाताके चर्चा भइरहँदा वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले हरिवन नगरपालिकाको मेयर जितेको थियो । एक जना वडा सदस्य समेत नजितेपनि माओवादीका जिल्ला संयोजक समेत रहेका रमेश बुढाथोकी (कमल) निवर्तमान मेयर एवं एमालेका उम्मेदवार गणेश प्रसाईलाई हराउँदै मेयरमा निर्वाचित भएका थिए ।