logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

अशक्तलाई कांग्रेस नेता रिजालद्वारा सहायता सामग्री सहयोग


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेसका नेता एवं समाजसेवी ध्रुव रिजालले सर्लाहीको लालबन्दी नगरपालिका–५, रञ्जितपुरका एक अशक्त दाजु बहिनीलाई सहायता सामग्री सहयोग गरेका छन् ।

विगत सात वर्षदेखि दुर्लभ रोग स्पाइसी सिटीबाट ग्रसित रञ्जितपुरका विवेक कर्ण र उनकी बहिनी आशा कर्णलाई कांग्रेस मधेश प्रदेश समितिका सदस्य रिजालले शनिबार बिहान घरमै पुगेर करिव एक लाख बराबरको स्पाइनिङ मेसिन प्रदान गरेका हुन् । थलिएर बसेका कर्ण दाजु बहिनीलाई शारीरिक व्यायाम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सो मेसिन उपलब्ध गराएको कांग्रेस नेता रिजालले बताए ।

लालबन्दी नगरपालिकाकी उपप्रमुख एवं कांग्रेस नेतृ कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा आयोजित सो सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा कांग्रेस नेताहरु दीपक अधिकारी, इन्द्र योञ्जन, सीताराम दाहाल, प्रशान्त आचार्य, नारायण गुर्मछान, राकेश ढुङ्गेललगायतको उपस्थिति रहेको थियो ।

लालबन्दी ५ कै स्थानीयवासी रिजालले शितलहर पीडितलाई कम्बल वितरण, विपन्नलाई खाद्यान्न सहयोगलगायत अन्य सामाजिक काम गर्दै आइरहेका छन् ।