दुर्घटनापछि शुक्रबार दिउँसो बरहथवा बजारमा टायर बालेर गरिएको प्रदर्शन ।
बरहथवा – सर्लाहीको बरहथवामा शुक्रबार बिहान टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव ११ घण्टापछि घटनास्थलबाट उठाइएको छ ।
मृतकको शव शुक्रबार साँझ ७ बजेपछि घटनास्थलबाट उठाएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको हो । शव उठाइएसँगै बरहथवा बजार क्षेत्रको अवस्था सामान्य बनेको छ ।
दुर्घटनाका विषयमा शनिबार यातायात संघका मानिस र टिपरधनीलाई बोलाएर छलफल गर्ने सहमतीमा मृतकको शव घटनास्थलबाट उठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशंकर प्रसाद यादवले उज्यालो अभियानसँग बताए । टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि बरहथवा बजार शुक्रबार दिनभर अशान्त बन्यो ।
प्रहरीले दिएको जानकारी अनुसार बरहथवा नगरपालिका–१०, किसनपुर टोलमा बिहान पौने ७ बजेतिर टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो । दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
साहले बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयवासीले बिहानैदेखि बरहथवामा टायर बालेर प्रदर्शन गर्ने, प्रहरी कार्यालय घेराउ गर्न जानेलगायतका गतिविधि गरे । बरहथवा बजार क्षेत्र र दुर्घटनाभएको स्थलमा शुक्रबार दिनभर जिल्लाभरबाट ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।