logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बरहथवा टिपर दुर्घटना : मृतकको परिवार र स्थानीयलाई सम्झाएर शव उठाउने प्रयास हुँदै


  • उज्यालो अभियान

बरहथवा – टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि सर्लाहीको बरहथवा बजार अशान्त बनेको छ ।

बरहथवा नगरपालिका–१०, किसनपुर टोलमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युभएपछि स्थानीयले प्रदर्शन चर्काउँदा असहजस्थित सिर्जना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो ।

दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । साहले बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे । शुक्रबार बिहान ८ः४५ बजेतिर भएको सो दुर्घटनाका मृतकको शव अहिले साँझ ६ १५ बजेसम्म पनि घटनास्थमै रहेको छ ।

प्रहरीले मृतकका परिवार र स्थानीयलाई सम्झाई बुझाई गरी शव उठाएर पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा पठाउने प्रयास गरिरहेको छ । सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रवीण पोखरेलले घटनास्थलबाट शव उठाउने सहमती भइसकेको र अबको केहीबेरपछि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइने उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँग बताए । एसपी पोखरेलका अनुसार भोली (शनिबार) गाडीधनीलाई बोलाएर छलफल गर्ने सहमतीमा शव उठाउने तयारी भइरहेको हो ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि स्थानीयवासीले बिहानैदेखि बरहथवामा टायर बालेर प्रदर्शन गर्ने, प्रहरी कार्यालय घेराउन गर्न जानेलगायतका गतिविधि गरिरहेका छन् । बरहथवा बजार क्षेत्र र दुर्घटनाभएको स्थलमा बिहानैदेखि जिल्लाभरबाट ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।