logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

न्यायीक समितिलाई सक्रिय पारौँ : महान्यायाधिवक्ता खाती


  • उज्यालो अभियान

मलंगवा – महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तहका न्यायीक समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार (हिजो) सर्लाही सदरमुकाम मलंगवामा जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले पालिकाका न्यायीक समितिलाई सक्रिय बनाउन सके स्थानीय स्तरमै प्रभावकारी र सर्वसुलभ ढंगबाट न्याय सम्पादन हुने बताएका हुन् । उनले कानून बमोजिम न्यायीक समितिमा कानूनी सल्लाहकार राखेर निष्पक्ष न्याय सम्पादनको कामलाई प्राथमिकतामा राख्न स्थानीय तहहरुलाई आग्रह समेत गरे ।

नागरिकलाई न्यायीक समितिमार्फत आफ्नै दैलोमा न्याय पाउने अधिकार प्राप्त भएकाले यसमा सबै सरोकारवालाबीच समन्वय भइ काम हुनुपर्नेमा उनको जोड छ । महान्यायाधिवक्ता खातीले आफ्नै भवन निर्माण भएपछि जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीको सेवा सुविधा चुस्त, दुरुस्त र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन् ।

मलंगवा नगरपालिका–१०, स्थित सर्लाही जिल्ला अदालत छेउमा निर्माण भएको तीन तले कार्यालय भवनको महान्यायाधिवक्ता खातीले शिलालेखमा ब्यानर अनावरण गरी उद्घाटन गरेका हुन् । दुई करोड ७० लाख १५ हजार ११८ रुपियाँ ६९ पैसा लागतमा २२ कोठे भवन निर्माण गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला न्यायाधीवक्ता ऋद्धिनाथ निरौलाले उज्यालो अभियानलाई जानकारी दिए ।

आफ्नो भवन नहुँदा जिल्ला सरकारी वकिल कार्यालय यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । कार्यक्रममा महान्यायाधिवक्ता खातीसँगै नायब महान्यायाधिवक्ता विश्वराज कोइराला, सह–न्यायाधिवक्ता गोपाल प्रसाद रिजाल, उच्च सरकारी वकिल कार्यालय जनकपुरका सह–न्यायाधिवक्ता यदुनाथ शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायतको उपस्थिति रहेको थियो ।
मलंगवामा आयोजित सरकारी वकिल कार्यालयको भवन उद्घाटन समारोह ।