लालबन्दी – मनसुन सक्रिय भई देशका अन्य भू–भागमा वर्षा भइरहेपनि सर्लाहीमा भने पानी पर्नै सकेको छैन् ।
मौसमविद्ले हिजैदेखि मनसुन सक्रिय भएको बताएका छन् । तर, सर्लाहीमा भने मौसम सामान्य बद्ली हुनुबाहेक पानी बर्सिन नसकेको हो ।
यस क्षेत्रको मौसम हिजोदेखि धाम्मधुम्म भने गरिरहेको छ । हिजो दिउँसोपख जिल्लाको चुरेपाखोका केही ठाउँहरुमा एकैछिन पानी परेको त्यसक्षेत्रका स्थानीयले जानकारी दिएका छन् । तर पूर्व–पश्चिम राजमार्गक्षेत्रसहित सदरमुकाम मलंगवा र दक्षिणी भेगमा पानी परेन । धान, मकैलगायतका बाली सुकेर गइरहेकाले सर्लाहीका किसान वर्षाको बेग्र प्रतिक्षामा छन् ।
पानीको आशमा किसानको आँखा आकाशतिरै छ । सर्लाहीमा पानी नपरेपनि हिजोदेखि मौसम धुम्मिएर हावा चलिरहँदा गर्मी भने केही कम भएको महशुस गरिएको छ । मौसमविद्ले आज दिउँसोपख मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरेका छन् ।
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अर्थात नेपालतर्फ रहेको छ । यसले गर्दा मनसुनी प्रणाली सक्रिय भएको छ ।