logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

करारका कर्मचारी धमाधम हटाइँदै, भित्रभित्रै आफ्नालाई नियुक्ती


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका स्थानीय तहले करारमा कार्यरत कर्मचारीलाई धमाधम कामबाट निकाल्न थालेका छन् ।

सोहीक्रममा जिल्लाको मलंगवा नगरपालिकाले करार तथा ज्यालादारी कर्मचारीलाई कामबाट हटाएको छ । नगर कार्यपालिकाको बैठकले स्वीपर, कम्प्यूटर अपरेटर, कार्यालय सहयोगीसहित करिव सय जना करारका कर्मचारीलाई कामबाट हटाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले बताए ।

करार र ज्यालादारी कर्मचारीको असार ३२ गतेबाट सम्झौता म्याद सकिएको छ । साउन १ गते हिजैदेखि उनीहरुको म्याद थप तथा नवीकरण नगर्ने भनी कार्यपालिका बैठकबाट निर्णय भएको नगरपालिका कार्यालयले जनाएको छ ।

यस्तै, जिल्लाको कविलासी नगरपालिकाले पनि करारका कर्मचारीलाई कामबाट हटाएको छ । नगरपालिकाका करिव ७० जना करारका कर्मचारीलाई कामबाट हटाउने निर्णय भएको कविलासी नगरपालिकाका सूचना अधिकारी सुरेन्द्र रायले जानकारी दिए ।

हटाइएका करार तथा ज्यालादारीका कर्मचारीको स्थानमा केही स्थायी कर्मचारी आइसकेका र रिक्त रहेको ठाउँहरुको बारेमा अर्को निर्णय भइसकेको छैन् । यसअघि जिल्लाको बलरा नगरपालिका कार्यालयले करारमा कार्यरत कर्मचारीलाई कामबाट हटाउने निर्णय गरेको थियो ।

यसअघिका जनप्रतिनिधिले आफू निकट र आफ्नो दलका कार्यकर्तालाई करार कर्मचारीको रुपमा नियुक्ती दिएको भन्दै बलरा नगरपालिकाले उनीहरुको म्याद नथप्ने निर्णय गरेको हो । जिल्लाको धनकौल गाउँपालिका र हरिपुर नगरपालिकाले पनि करारका कर्मचारी हटाएका छन् ।

यस्तै, जिल्लाका अन्य पालिकाहरुले अघिल्लो पटकका जनप्रतिनिधिले राखेका करारका कर्मचारी भित्रभित्रै हटारहेका छन् । हटाइएका कर्मचारीहरुको ठाउँमा आफू निकटका कर्मचारीहरु राख्नेक्रम पनि सुरु भइसकेको छ ।

यसैबीच, नगरपालिकाले कामबाट निकालेपछि कविलासी नगरपालिकाका अस्थायी तथा ज्यालादारी कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । अखिल नेपाल अस्थायी/करार ज्यालादारी कर्मचारी श्रमिक सङ्घ इकाई कमिटीले आजदेखि नगरपालिका कार्यालयमा धर्नामा बस्ने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।