logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

भन्सार र वडा कार्यालयमा बस्दै आएका सशस्त्रको आफ्नै भवन


  • उज्यालो अभियान

बीओपी भवन उद्घाटनमा उपस्थित अतिथिहरु ।

मलंगवा – सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएका दुईवटा बोर्डर आउट पोष्ट (बीओपी) भवनको उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले जिल्लाको विष्णु गाउँपालिकास्थित सीमरा र बाराउद्योरणमा निर्माण गरेको बीओपी भवनको उद्घाटन गरिएको हो । भवनको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले उद्घाटन गरेका सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक खनियाँका अनुसार करिव दुवै स्थानमा करिव दुई करोड रुपैयाँ लागतमा बीओपी भवनको निर्माण गरिएको हो । यसअघि आफ्नै भवन नहुँदा बीओपी सीमरा छोटी भन्सार कार्यालयको भवनमा र बीओपी बाराउद्योरण वडा कार्यालयको भवनबाट सञ्चालन हुँदै आएका थिए ।

अब भने आफ्नै भवन भएपछि सहज भएको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताएका छन् । भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक ठाडा मगरले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसँगै अन्य जिम्मेवारीका इमान्दारिताका साथ निर्वाह गर्न निर्देशन दिए ।

बीओपी भवन उद्घाटन कार्यक्रममा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादव, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।