लालबन्दी–सर्लाही लालबन्दीबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमवार लालबन्दी नगरपालिका–१, नवलपुर चोकबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–२, बस्ने २८ बर्षका रितेश कुमार यादव रहेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो । यस्तै सोही घटनाको अनुसन्धानको क्रममा लालबन्दी नगरपालिका–२ बस्ने ३४ बर्षका रोशन भनिने बिजय कुमार घिमिरेलाई पनि प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको छ ।
सोमबार दिउसो बिषेश सुराकीको आधारमा प्रहरीले भारतीय नम्बरप्लेट बिआर ३० एए ३३६५ नम्बरको मोटरसाईकलमा मलंगवाबाट नवलपुर तर्फ आउदै गरेका यादवलाई पक्राउ गरेको थियो । यादवलाई रोकेर चेकजाचँ गर्ने क्रममा लागु औषध नाईट्राभेट ट्याब्लेट ५० पत्ता(१५०० पिस) बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार यादव सवार मोटरसाईकलको लेगार्डमा तरकारी बोक्ने नाईलनको झोलामा राखेर बाधेको अवस्थामा लागुऔषध बरामद् भएको थियो ।
यस्तै सोधपुछका क्रममा यादवले दिएको बयानको आधारमा खानतलासी गर्दा घिमिरेको घरबाट सय एमएलको ९० बोटल लागु औषध (डाईलेक्स डिसी) बरामद भएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो । घिमिरेले लुकाएर घरमा राखेको लागु औषध बरामद भएको प्रहरीको भनाई छ । प्रहरीले बरामद लागुऔषध, मोटरसाईकल र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।