मृत भेटिएकी शिशु ।
बयलवास – सर्लाहीको सागरनाथ जंगलमा एक साताअघि मृत फेला परेकी शिशुको अझै सनाखत हुन सकेको छैन् ।
असार २० गते साँझ ईश्वरपुर नगरपालिका १३ स्थित जंगलमा टाउको मात्रै देखिने गरी खाल्डो खनेर पुरिएको अवस्थामा अन्दाजी १८ महिने शिशुको शव फेला परेको थियो । वस्तुभाउ चराउन गएका मानिसहरुले असार २० गते साँझ घर फर्किनेक्रममा शिशुको शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले शिशुको शव फेला परेको दिनदेखि नै उनको परिचय खुलाउने प्रयास गरिरहेको छ । तर, छेउछाउ गाउँका सबै मानिसहरुसँग सोधखोज गर्दा र प्रहरी युनिटहरुमार्फत शिशुको शवको फोटो देखाउँदै हिँड्दा पनि आजसम्म शिशुको अभिभावक तथा घर, ठेगाना पत्ता नलागेको बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
प्रनि थापाले शिशुको सनाखत खुलाउन प्रहरी निरन्तर लागिपरहेको बताए । मृत शिशुले मोटुपात्लुको तस्बिर अंकित पिंक कलरको हाफ बाउला भएको गन्जी र निलो जिन्स पाइन्ट लगाएकी छन् ।
प्रहरीले आफ्नो टोल वा छिमेकमा उल्लेखित हुलिया भएको शिशु हराएको कुनै जानकारी भएमा इलाका प्रहरी कार्यालय केशरगन्जको सम्पर्क नम्वर ९८५४०९००६१ वा ९८५४०९०१९६ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ । शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।