अध्यक्षका उम्मेदवार बलम्पाकी र श्रेष्ठ ।
लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष चयन गर्न भएको मतदान सकिएर मतगणना पनि सुरु भएको छ ।
लालबन्दी बजारस्थित जानकी माध्यमिक विद्यालयमा बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे थियो । त्यसको करिव एक घन्टापछि अर्थात् ६ बजेतिरबाट मतगणना पनि सुरु भइहालेको हो । मतदानमा १२ सय ४९ मतदातामध्ये ७५३ जना अर्थात् ६० प्रतिसतले मात्रै मत खसालेका छन् ।
उद्योग वाणिज्य संघ लालबन्दीमा दर्ता भएका १२ सय ४९ जना उद्योगी, व्यवसायीहरु मतदाता रहेका थिए । निर्वाचन समितिका संयोजक बाबुकाजी नुच्छे प्रधानले कुनै विवाद नभई शान्तिपूर्ण तबरमा मतदान सम्पन्न भएको जानकारी दिए । निर्वाचन समितिका सदस्य प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकी माविमै मतगणना चलिरहेको र कुनै विवाद नआए केहीबेरमै अन्तिम नतिजा पनि आउने बताए ।
उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा दीपेन्द्र कुमार बलम्पाकी र पन्चलाल श्रेष्ठ उम्मेदवार छन् । अन्य पदाधिकारी र सदस्यहरुसहित २० जना सर्वसम्मत चयन भएपनि अध्यक्षमा भने बलम्पाकी र श्रेष्ठबीच सहमती जुट्न नसकेपछि मतदान नै भएको हो ।
बलम्पाकी लालबन्दीको डुमडुमे मन्दिर छेउमा रहेको यूनाईटेड होटलका मालिक हुन् भने श्रेष्ठको लालबन्दी बजारमा श्वेत भैरव नामक कपडा पसल छ ।