कालिन्जोर– सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरमा बुधबार ३३ जना गर्भवतीलाई घ्यू र हर्लिक्स वितरण गरिएको छ ।
वडा कार्यालयले चालू आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजन गरेको बजेटबाट चार पटक स्वास्थ्य चौकीमा आएर गर्भ परीक्षण गराएका गर्भवतीलाई आधा किलो घ्यू र आधा किलो हर्लिक्स वितरण गरिएको हो । गर्भवतीलाई यसरी स्वास्थ्य चौकीसम्म आएर चारपटकसम्म अनिवार्य गर्भ परीक्षण गराउन प्रोत्साहन गर्ने उद्देश्यले घ्यू र हर्लिक्स प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउँदा हुने फाईदाका सम्वन्धमा स्वास्थ्य चौकी कालिञ्जोरका दिनेशकुमार सिंह र मेनुका रायमाझीले प्रष्ट पारेका थिए । त्यस्तै, समुन्नति परियोजना अन्तर्गत स्वास्थ्य चौकीमा आइ चार पटक गर्भ जाँच गराउने र प्रसुति गराउने महिलालाई सेभ द चिडे«न र ग्रामीण नारी उत्थान सङ्घले साबुन, ब्रस, मन्जन, काइयोलगायतका सामग्री प्रदान गर्दै आइरहेको सामाजिक परिचालक विन्दा लुंगेलीले जानकारी दिईन् ।
घ्यू र हर्लिक्स वितरण कार्यक्रममा वडा सदस्य सुशीला पाण्डे, पूर्व वडा सदस्य मधुमाया थिङ, महिला सञ्जालकी गंगा कार्कीलगायतको उपस्थिति रहेको थियो ।