अध्यक्षका उम्मेदवार पन्चलाल श्रेष्ठ (बायाँ) र दीपेन्द्र कुमार बलम्पाकी .
लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको निर्वाचन अन्तर्गत मंगलबार अध्यक्षका दुई उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
निर्वाचन समितिले अध्यक्षका उम्मेदवार दीपेन्द्र कुमार बलम्पाकीलाई घर र अर्का उम्मेदवार पन्चलाल श्रेष्ठलाई हाँस चुनाव चिन्ह प्रदान गरेको हो । अब अध्यक्षमा बलम्पाकीलाई मतदान गर्न चाहनेले घर चुनाव चिन्ह र श्रेष्ठलाई मतदान गर्न चाहनले हाँस चुनाव चिन्हमा मत खसाल्नु पर्ने छ ।
चुनाव चिन्ह पाएपछि दुवै उम्मेदवारले मंगलबारबाटै मत माग्न थालिसकेका छन् । उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष छान्न असार २५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म जानकी माध्यमिक विद्यालय लालबन्दी बजारमा मतदान हुने छ ।
चुनावमा मतदाताका रुपमा उद्योग वाणिज्य संघ लालबन्दीमा दर्ता भएका १२ सय ४९ जना व्यवसायी रहेका छन् । संघको अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरु भने यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् ।
अध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेपछि मतदान नै गराउनु पर्ने भएको हो । अन्तिम समयसम्म पनि अध्यक्षमा समेत सहमतीको प्रयास गरियो । तर, दुईमध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् ।