हरिवन – सर्लाहीको हरिवन बजारबाट कटुवा पेस्तोलसहित एक जना व्यापारी पक्राउ परेका छन् ।
हरिवन नगरपालिका–११ बजारमा किराना पसल संचालन गर्दै आएका स्थानीय ४३ वर्षीय छोटेलाल दासलाई एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिइएको हो । उनको साथबाट पेस्तोलसहित पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सुराकीका आधारमा दासले संचालन गरेको सुनिता किराना पसलबाट प्लास्टिकको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए । उनले व्यापारीले किन र केका लागि पेस्तोल राखेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।