logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष छान्न मतदान नै हुने


  • उज्यालो अभियान

अध्यक्षका उम्मेदवार बलम्पाकी र श्रेष्ठ ।

लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष चयन गर्न मतदान नै हुने भएको छ ।

उम्मेदवारी फिर्ताका लागि छुट्याइएको समयभित्र दुवै जना उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि अध्यक्ष चयन गर्न निर्वाचन नै हुने भएको हो । उद्योगी, व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष पदमा दीपेन्द्र कुमार बलम्पाकी र पञ्चलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ताका लागि छुट्याइएको असार १८ गते बिहान १० बजेदेखि १९ गते अपरान्ह ४ बजेसम्मको समयभित्र दुईमध्ये कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि अब असार २५ गते मतदानमार्फत अध्यक्ष चयन गरिने निर्वाचन समितिका संयोजक एवं उद्योग वाणिज्य संघ लालबन्दीका पूर्व अध्यक्ष बाबुकाजी नुच्छे प्रधानले जानकारी दिए । उनका अनुसार अध्यक्ष चयनका लागि असार २५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन समितिले निर्विरोध चयन भएका पदाधिकारीसहित २० जनाको सोमबार घोषणा र दुई जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अब मंगलबार अध्यक्षका दुई उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन समितिका संयोजक प्रधानले बताए ।

अध्यक्षमा उम्मेदवारी दिएका बलम्पाकी उद्योग वाणिज्य संघ लालबन्दीको निवर्तमान कार्य समितिमा महासचिव छन् । उनले लालबन्दीमा यूनाईटेड होटल संचालन गर्दै आइरहेका छन् ।

त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले भने लालबन्दी बजारमा फेन्सी पसल संचालन गर्दै आइरहेका छन् । अध्यक्ष बाहेक अन्य पदहरुमा भने असार १६ गते नै सर्वसम्मत भएको छ ।

जसअनुसार प्रथम उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई, द्धितीय उपाध्यक्षमा प्रदीप भट्टराई र तृतीय उपाध्यक्षमा महेश कुमार महतो चयन भएका छन् । त्यस्तै, महासचिवमा रामप्रसाद देवकोटा, उपमहासचिवमा चूडामणि उप्रेती, सचिवमा बिक्रम खड्का, कोषाध्यक्षमा सुवास दाहाल र सह–कोषाध्यक्षमा विशाल थापा चयन भएका निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा कमला कुमारी थापा, केशव बहादुर दाहाल, सुधिर कुमार गुप्ता, गोपाल साह, नवलकिशोर यादव, ध्रुव विश्वकर्मा, दिनेश पाठक, विदेश्वर कुमार सिंह, भेषनाथ दाहाल, सुदर्शन आचार्य, नागेन्द्र साह र अनुकुमारी श्रेष्ठ चयन भएका छन् ।