logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी खानेपानीको साधारण सभा उद्घाटन, नेतृत्व चयन गर्न ‘कोरम’ पुगेन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा शनिबार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौं वार्षिक साधारण सभा अन्तर्गत उद्घाटन सत्र सम्पन्न भएको छ ।

संस्थाकी कार्यवहाक अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको हो । संस्थाकै केन्द्रीय कार्यालय लालबन्दी नगरपालिका ६ स्थित लेखाली चौरमा आयोजित साधारण सभा उद्घाटन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै, यही साधारण सभाबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएपनि शनिबार उद्घाटन सत्रमा ५१ प्रतिसत उपभोक्ताको उपस्थिति देखिएन् । कोरम नपुगेपछि शनिबार नयाँ नेतृत्व चयन हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।

खानेपानीको विधान अनुसार नयाँ नेतृत्व चयनका लागि कूल उपभोक्ता सदस्यमध्ये पहिलो चरणमा ५१ प्रतिसत, दोस्रो चरणमा एक तिहाई, तेस्रो चरणमा एक चौँथाई र अन्तिममा उपस्थितिमध्येबाटै नयाँ नेतृत्व चयन गर्ने व्यवस्था छ । अब क्रमैसँग यि प्रक्रियाहरु पूरा गरेर नयाँ नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ ।

लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नगरपालिकाको वडा नं. १ देखि १३ सम्म खानेपानी वितरण गर्दै आइरहेको छ । खानेपानीका ७५ सय बढी उपभोक्ता भइसकेका छन् ।