logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको अगर्बामा धारिलो हतियार प्रयोग गरी युवकको हत्या


  • उज्यालो अभियान

घटनास्थलमा ल्याइएको तालिम प्राप्त कुकुर ।

कविलासी – सर्लाहीको अगर्बामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ ।

सोमबार राती कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो । धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनायो ।

अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको बाँसबारीनजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुवा र भाइ मिलेर अगर्वा चोकमा फर्निचर पसल सञ्चालन गर्दै आएका ठाकुर सोमबार राति खाना खान घर नपुगेपछि परिवारले राति खोजबिन गरे पनि फेला परेन ।

युवकको हत्यापश्चात प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर झिकाइएको थियो तर कुकुर घटनास्थलबाट सलेमपुर चोकमा पुगेर रोकिएको थियो ।

ठाकुरको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । ठाकुरको हत्याको अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।