logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चक्रघट्टाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु


  • उज्यालो अभियान

विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक वितरण गरेर अभियानको सुरुवात गरिँदै । (तस्बीर : उज्यालो अभियान)

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा पहिलो पटक अंग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ ।

गाउँपालिकाको वडा नं. ८ स्थित औरहीमा रहेको जनता माध्यमिक विद्यालयमा बाल विकास कक्षाबाट अंग्रेजी माध्यमको पढाई सुरु गरिएको हो । विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार स्वागत तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमकै अवसर पारेर गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले बाल विकासका विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक वितरण गर्दै सो अभियानको शुभारम्भ गरेका हुन् ।

पालिकाका नवनिर्वाचित जनप्रतिनिधि, अभिभावक र विद्यार्थीको उपस्थितिमा अंग्रेजी माध्यमको पठपाठन कार्य शुभारम्भ गरिएको त्यस विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त रायले जानकारी दिए । चुनावी घोषणापत्रमा उल्लेख गरेअनुसार आफूले बालविकास कक्षादेखि पालिकाका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गराएको गाउँपालिकाका अध्यक्ष यादवले बताएका छन् ।

पहिलो वर्ष बालविकासदेखि सुरु गरिएको र अगामी वर्षहरुमा बर्सेनि एक÷एक कक्षा थपिँदैं लैजाने उनले बताए । शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई क्रमिकरुपमा सुधार गर्दै लैजाने योजना अनुसार पहिलो काम अंग्रेजी माध्यमको पठनपाठन सुरुवात गरिएको हो ।

विस्तारै पालिकामा देखिएको शिक्षक अभाव, भौतिक संरचनाको निर्माण, विधार्थी भर्ना लगायतका कामलाई पनि अगाडी बढाइने गाउँपालिका अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाको यो अभियानले शिक्षा क्षेत्रमा सुधार हुने अपेक्षा आफूहरुको रहेको चक्रघट्टाका स्थानीय हरिनारायण रायले बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मीनादेवी यादव, वडाध्यक्षहरु रामकैलाश राउत, दिनेश साह, फैयाज अहमद, नागेन्द्र प्रसाद साह, राजेश यादव, विजय कुमार यादव, पूर्व वडाध्यक्ष अब्दुल अहद कबाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण राय लगायतको उपस्थिति रहेको थियो ।