logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

छठियारको भोज खाएर फर्किदै गर्दा कार दुर्घटना, ४ वर्षीय बालकको मृत्यु, ७ घाइते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

बरहथवा – जिल्लाको दक्षिण पश्चिम भेगस्थित धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार राती कार दुर्घटना हुँदा चार वर्षीय बालकको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

जिल्लाकै छतौनाबाट छठियारको भोज (बच्चा जन्मिएको छ दिनमा गरिने भोज) खाएर रौतहटको वृन्दावन हरैयातर्फ फर्किदै गरेकाहरु सवार बीआर ०५ एआर ५१३७ नम्वरको कार शनिबार राती १ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४, हरैया बस्ने शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।

दुर्घटनामा वृन्दावन नगरपालिका–४, हरैयाकै ७० वर्षीय महेन्द्र राय, ४ वर्षीय अमित कुमार यादव, १४ वर्षीया मीरा कुमारी यादव, ३२ वर्षीय जितेन्द्र कुमार यादव, १७ वर्षकी शोभा कुमारी यादव, १० वर्षीय गौतम यादव र ६ वर्षीय अनिकेत यादव घाइते भएका छन् । घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको बरहथवामा उपचार चलिरहेको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक चन्देश्वर यादवले दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको उज्यालो अभियानसँग बताए । दुर्घटनापछि कारका चालक फरार भएका छन् ।

चालकसहित नौ जना सवार कार पुलबाट करिव १५ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।