logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा जिसस गठनको प्रक्रिया आजबाट, सभापतिका लागि कांग्रेसभित्रै द्वन्द्व


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालय । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया आज (बिहीबार) बाट प्रारम्भ हुँदै छ ।

निर्वाचन कार्यक्रम अनुसार आज पहिलो दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउने वा छुट भए समावेश गर्ने, मतदाताको विरोधमा उजुरी दिनेलगायतका कार्यक्रमहरु हुने छन् । भोली (शुक्रबार) दोस्रो दिन उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी परेको भए त्यसउपर जाँच गर्नेलगायतका कार्यक्रम छन् ।

त्यस्तै, पर्सी असार ४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ भने असार ५ गते मुख्य दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले उज्यालो अभियानलाई जानकारी दिए । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित ९ जना सदस्य चयन हुने छन् । निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखहरु मतदाता हुने छन् ।

सर्लाहीमा २० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी ४० जना मतदाता छन् । जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेस एक्लैलाई स्पष्ट बहुमत छ । तर, सत्ता गठवन्धनभित्रकै दलबीच तालमेलको सम्भावना रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

१२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको कांग्रेससँग २३ मत छ । माओवादी, एमाले, जसपा र लोसपासँग भने १७ मत मात्रै छ ।

एकल बहुमत रहेको कांग्रेसभित्र जिससको नेतृत्वका लागि जगर्नाथ राय र कौशलकिशोर सिंह प्रमुख दाबेदार देखिएका छन् । उनीहरु दुवै जना कांग्रेसको संस्थापन पक्षका हुन् ।

पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले नेता कौशलकिशोर सिंहलाई अघि सारेका छन् । बलरा नगरपालिकाको मेयरमा पराजित भएका नेता सिंह पछि कार्यपालिका सदस्यको निर्वाचनमा अल्पसंख्यकबाट निर्वाचित भएका थिए ।

यस्तै, संस्थापन पक्षकै नेता तथा पार्टीका पूर्व केन्द्रीय सदस्य जंगिलाल रायका सहोदर भाई जगर्नाथ राय पनि जिल्ला समन्वय समितिको सभापतिमा प्रमुख आकांक्षी छन् । राय कविलासी नगरपालिका–९, सलेमपुरबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

स्रोतका अनुसार बुधबार दुवै समूहले बेग्लाबेग्लै रुपमा सभापतिका लागि सिंह र रायको नाम सिफारिस गरेको छ । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले बिहीबार बिहान उज्यालोका समाचार प्रमुख जनार्जन खत्रीसँगको कुराकानीमा आज बेलुकासम्म जिसस सभापतिको उम्मेदवार टुंग्याइने बताएका छन् ।