logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा ४० हजार विद्यार्थीको निःशुल्क आँखा उपचार गर्न शिविर आयोजना


  • उज्यालो अभियान

परवानिपुरस्थित डिम जनता माविमा भएको शिविर उद्घाटन कार्यक्रम । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – तीनवटा पालिकाका झण्डै ४० हजार विद्यार्थीले उपचार पाउने गरी बुधबारबाट सर्लाहीमा निःशुल्क आँखा उपचार शिविर सुरु गरिएको छ ।

पहिलो पटक जिल्लामा यसरी यतिधेरै विद्यार्थीलाई सेवा दिने उद्देश्यले किवानिज क्लब अफ निलगिरीको आयोजना तथा जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा राखिएको आँखा शिविरको बुधबार बिहान लालबन्दी नगरपालिका–१६, परवानिपुरमा रहेको डिम जनता माध्यमिक विद्यालयबाट शुभारम्भ गरिएको छ । जिल्लाको लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पुगेर विद्यार्थीलाई लक्षित गरी निःशुल्क आँखा उपचार शिविर आयोजना गरिएको हो ।

झण्डै एक महिनासम्म शिविर संचालन हुने छ । निःशुल्क आँखा उपचार शिविरको किवानिज क्लब अफ निलगिरीका संस्थापक अध्यक्ष भरतप्रसाद ढुंगेल र जानकी आँखा अस्पताल जनकपुरका अध्यक्ष गंगाराम यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शिविरमा पाँच वर्षदेखि १८ वर्षसम्मका सम्पूर्ण विद्यार्थीको निःशुल्क आँखा परीक्षणसहित आँखाको समस्या अनुसार औषधि र चश्मा समेत निःशुल्क प्रदान गरिने शिविरका संयोजक राजकुमार न्यौपानेले उज्यालो अभियानसँग बताए । आँखामा गम्भीर किसिमको समस्या देखिएका र विद्यालयमा आयोजित शिविरमा उपचार हुन नसकेका विद्यार्थीलाई जनकपुर वा काठमाण्डौंसम्म लगेर भएपनि निःशुल्क रुपमै उपचारको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।