चुरेको दुर्गम क्षेत्रमा पर्ने नारायणखोलामा ट्याक्टरबाट खाद्यान्न ढुवानी गरिँदै । (तस्बीर : उज्यालो अभियान)
नारायणखोला – बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरेभेगमा यातायातका साधन ठप्प भएका छन् ।
बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरेभेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमारलगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । त्यसभेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म आउन घण्टौँ पैदल हिँड्न बाध्य छन् ।
सडक सञ्जालमा नजोडिएको चुरेभेगका विकट बस्तीमा हिउँदयामभर खोलाको बगरबाटै भएपनि बसहरु चल्ने गरेका छन् । खोलामा बाढी आउन थालेपछि भने लालबन्दी बजारबाट चुरेभेगमा जाने बसहरु बन्द हुन्छन् ।
बाढी नआएको समयमा स्थानीयले ट्याक्टरमा निकै मुस्किलले दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने गरेका छन् । लालबन्दी नगरपालिका–१४, नारायण खोलाका रोशन दोङले नारायण खोला क्षेत्रमा अब बर्खायामभर बस चल्न सक्ने अवस्था नरहेको उज्यालो अभियानलाई जानकारी दिए ।
नारायण खोलामा हिउँदका छ महिना मात्रै लखन्देही र डाईनी खोलाको बगर भएर बस चल्ने गरेका छन् । “बर्खायामभर अब यहाँ बस चल्दैनन्, बाढी नआएको बेला ट्याक्टर भने चल्छ,” दोङले भने, “केही स्थानीय त्यही ट्याक्टरमा बजार आउनेजाने गर्छन् नत्र भने त अधिकांश लालबन्दी बजारसम्म पुग्न पत्थरकोटसम्म चार÷पाँच घण्टा सम्म पैदल भएर जान्छन् ।
नारायण खोला पुग्न लालबन्दी बजारदेखि पत्थरकोटसम्म भने सडक पुगेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकाको चुरेभेगमा बर्खायाममा बर्सेनि यस्तो समस्या हुन्छ ।
गाडी नचल्दा बिरामी परेको बेला असाध्य समस्या हुने गरेको छ । “गाउँमा कोही बिरामी परे वा सुत्केरी भए झोलुङ्गोमा बोकेर स्वास्थ्य चौकी पु¥याउनुपर्छ”, ईश्वरपुर नगरपालिका–१२, पिपलदमारका बलिराम वाईबाले उज्यालो अभियानलाई सुनाए “हाम्रो ठाउँबाट बर्खाभर गाडी चढ्न घारिबथानसम्म पुग्न दुई घण्टा बढी पैदल हिँड्नुपर्छ । यो बेला कोही बिरामी परेको खण्डमा भने साह्रै समस्या हुन्छ ।”
जिल्लाको चुरेभेगका बस्तीसम्म पुग्न खोलाको बगरबाहेक अरु विकल्प छैन् । ठूला चूचूरा कटेर जानुपर्ने चुरेका बस्तीमा छरिएर रहेका घरहरु छन् ।
ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले बर्खायामभर आफ्नो वडाको चुरेभेगमा पर्ने पिपलदमार, भित्रीखोला, गुइडुङ, लामिदमार, सिस्नेखर्कलगायत गाउँका वासिन्दालाई समस्या हुने गरेको उज्यालो अभियानसँग बताएका छन् । “चुरेका अति नै विकट यि वस्तीमा वडाले जति बजेट खर्च गरेपनि वर्षौसम्म पनि सडक पु¥याउन सक्ने अवस्था छैन्, सडक पु¥याउन पनि जताततै पहाड नै पहाड छ,” वडाध्यक्ष खत्रीले भने, “ती क्षेत्रका बस्ती स्तान्तरण गर्नुको विकल्प नै छैन् ।”
वडाध्यक्ष खत्रीले चुरेका अधिकांश घरहरु छरिएर रहेकाले त्यहाँ करोडौँ रकम खर्चिदा पनि सडक पु¥याउन सक्ने अवस्था नरहेको बताए । आफ्नो स्रोतले नभ्याउने भएकाले यहाँका पालिकाहरुले चुरेभेगसम्म सडक लैजान पहल गरेका छैनन् ।