logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हुलाकी सडकको निर्माण कार्य कछुवा गतिमा, नागरिकलाई सास्ती


  • उज्यालो अभियान

सर्लाहीको संग्रामपुरस्थित हिलाम्मे पूर्व–पश्चिम हुलाकी सडक । (फाईल तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक निर्माणको कामले गति लिन सकेको छैन् ।

हुलाकी राजमार्ग आयोजना कार्यालय, जनकपुरले सर्लाहीमा सङ्ग्रामपुरस्थित बाँके खोलादेखि पश्चिमी भेग बलरास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाइ निर्माणको काम गराइरहेको छ । हुलाकी सडकमा पर्ने गोडैता नगरपालिका–९, का स्थानीय रञ्जित यादवले सडकको निर्माण कार्य निकै सुस्त गतिमा अघि बढेको जानकारी दिए ।

वर्षौदेखि अत्यन्तै जिर्ण अवस्थामा रहेको हुलाकी सडकको निर्माण कार्य पूरा नहुँदा दक्षिणी भेगका नागरिकले सास्ती खेप्दै आइरहेका छन् । हिउँदमा धूलाम्मे हुने यो सडक केही दिनदेखि निरन्तर वर्षा भइरहँदा अहिले भने हिलाम्मे भएको छ ।

हुलाकी सडक निर्माणका लागि यहाँका वासिन्दाले लामो समयदेखि दबाब दिँदै आइरहेका छन् । सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले गत वर्ष जिल्लाका सांसद, पालिकाप्रमुख, नागरिक समाजका अगुवालगायतका व्यक्तिहरु धर्नामा नै बसेका थिए ।

सरकारका मन्त्रीहरुले पटक–पटक जिल्ला आएर आश्वासन दिँदा समेत हुलाकी सडकको अवस्था नफेरिँदा यहाँका वासिन्दा निराश भइरहेका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्ण कुमार महतोले हुलाकी सडक निर्माणको काम धमाधम अघि बढिरहेको दावी गरेका छन् ।

कार्यालय प्रमुख महतोले बाँके र बागमती दुवैतर्फबाट केही किलोमिटर सडक कालोपत्रे समेत भइसहेको बताए । उनले जेठ अन्तिमतिर सडक निर्माणमा गति देखिने उज्यालोसँग बताएका छन् ।