मुग्लिन–नारायणघाट सडकमा लागेको जाम । (तस्बीर सामाजिक संजालबाट)
मलंगवा – केही दिनदेखि मुग्लिन–नारायणघाट सडकमा जाम लाग्दा सर्लाहीबाट रात्रीबसमा काठमाण्डौं जाने यात्रु घटेका छन् ।
प्रायः दिनभरको काम गरेर भोलीपल्ट काठमाण्डौं पुगेर काम भ्याउनेहरु यात्री बसमा काठमाण्डौं जाने गर्छन् । तर, मुग्लिनको सडकमा निरन्तरजसो पहिरो खसेर पटक–पटक सडक अवरुद्ध हुनेक्रम बढेपछि यहाँबाट जाने यात्रुको संख्यामा कमी आएको हो ।
यात्रु कम भएपनि बसहरु भने हरेक दिन काठमाण्डौंका लागि छुटेर गइरहेका सर्लाहीका एक जना बस व्यवसायीले जानकारी दिए । सर्लाहीमा सदरमुकाम मलंगवासहित दक्षिणी भेगका गाउँहरु संग्रामपुर, ब्रम्हपुरी, गोडैता, बलरा, डुमरियालगायतका गाउँदेखि नै काठमाण्डौंसम्म रात्री बसहरु चल्छन् ।
राजमार्ग क्षेत्रबाट भन्दा दक्षिणी भेगका ग्रामीण बस्तीबाट रात्री बस चढ्ने यात्रु धेरै हुन्छन् । पछिल्लो केही वर्षदेखि विपी राजमार्गबाट सिन्धुली हुँदै काठमाण्डौंसम्म साना सवारी साधन चल्न थालेपछि भने मुग्लिनको बाटो हुँदै रात्रीबसमा काठमाण्डौं जाने यात्रुहरु कम हुँदै गएका छन् ।
विपी राजमार्ग भएर चल्ने गाडीहरु भने अहिले सामान्य अवस्थामै जिल्लाबाट छुटेर गइरहेका व्यवसायीले बताएका छन् । विपी राजमार्गमा यो वर्ष पानी तथा पहिरोले गर्दा खासै समस्या आएको छैन् ।
मुग्लिन–नारायणघाट सडकमा लागेको जाम । (तस्बीर सामाजिक संजालबाट)