नवलपुर – सर्लाहीको नवलपुर सवस्टेशनमा ट्रान्सफर्मर मर्मत तथा टेष्टिङको काम पूरा भएपनि अझै विद्युत् नियमित हुन सकेको छैन् ।
यस क्षेत्रमा विद्युत् छिनछिनमै आउने जाने गरिरहेको छ । बत्ती आउनेजाने समस्याले उपभोक्ता हैरान भइरहेका छन् । जसले गर्दा विद्युतीय उपकरण समेत धमाधम बिग्रन थालेको छ ।
नेपाल विद्युत् प्राधिकरणले नवलपुरमा केही महिनाअघि निर्माण पूरा भएको १३२ ÷३३ के.भी. ६३ एम.भि.ए. को ट्रान्सफर्मर मर्मत तथा टेष्टिङका लागि हिजो शनिबार १० घन्टा र अस्ती शुक्रबार ६ घन्टा बत्ती काटेको थियो । घन्टौँसम्म विद्युत् काटेर मर्मत सम्भार गरिएपछि पनि बिजुली भने नियमित नहुँदा जिल्लावासी हैरान भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले भने टेष्टिङको काम भर्खरै सकिएकाले ट्रान्सफर्मरबाट विद्युत् प्रवाहमा समस्या भइरहेको जनाएको छ । यस्तै, अहिले हावाहुरी र वर्षाले पनि विद्युत् नियमित गर्न समस्या परेको प्राधिकरणले दावीगरेको छ ।
सर्लाहीमा तीनवटा वितरण केन्द्रमध्ये लालबन्दी र मलंगवा वितरण केन्द्रमा नवलपुर सवस्टेशन र बरहथवा वितरण केन्द्रमा रौतहटको चन्द्रनिगाहपुर सवस्टेशनबाट बत्ती जोडिएको छ ।