logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा मनसुन सक्रिय, पानी पर्नेक्रम बढ्यो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा पनि मनसुन सक्रिय भई पानी पर्नेक्रम बढेको छ ।

यस क्षेत्रमा केही दिनदेखि दिनहुँजसो वर्षा हुन थालेको हो । जिल्लामा बिहान भारी वर्षा भएपनि अहिले भने पानी पर्न रोकिएको छ ।

निरन्तर पानी पर्न थालेसँगै कतिपय क्षेत्रको जनजीवन भने प्रभावित हुन थालेको छ । उत्तरी चुरेभेगमा पर्ने नारायणखोलासहितका ठाउँहरुमा खोलाको बगर हुँदै चल्ने यातायात ठप्प भएका छन् । सडक अवरुद्ध भएपछि त्यसभेगमा खाद्यान्न ढुवानीमा समस्या भएको छ भने उपचारका लागि बजारका अस्पतालसम्म आउन पनि अप्ठेरो परेको छ ।

त्यस्तै, दक्षिणी भेगमा पूर्व–पश्चिम हुलाकी सडक हिलाम्मे भई खराब हुँदा ग्रामीण भेगका वासिन्दालाई सदरमुकाम मलंगवासम्म आउन समस्या पर्न थालेको छ । जिल्लाका अन्य भित्री सडकहरु पनि बर्खाको पानीले जलमग्न र हिलाम्मे भएका छन् ।

यता, धानको ब्याड तयार हुन लागिसकेका किसानले भने पानी परेको मौका पारेर असार लाग्नासाथ रोपाइँ सुरु गर्ने तयारीमा जुटेका छन् । अहिले मकै रहेको खेतमा भने साउनमा मकै भित्र्याएर मात्रै रोपाइँ गरिने किसानले बताएका छन् ।

यसैबीच, वर्षाले विकास निर्माणका कामहरुमा भने असर गरेको छ । आर्थिक वर्षको अन्तिममा अहिले सडक, नाला, पुललगायतका संरचनाहरु निर्माणको काम चलिरहेको छ । वर्षाले ठाउँ–ठाउँमा भइरहेका निर्माणका कामहरु प्रभावित बनेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।