मलंगवा – सर्लाहीमा जिल्ला समन्वय समितिको निर्वाचन प्रयोजनका लागि बिहीबार निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति गठनका लागि बिहीबार दिउँसो निर्वाचन कार्यक्रमको सूचना निकालेको हो । निर्वाचन कार्यक्रम अनुसार असार २ गते पहिलो दिन मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउने वा छुट भए समावेश गर्ने, मतदाताको विरोधमा उजुरी दिनेलगायतका कार्यक्रमहरु हुने छन् ।
असार ३ गते उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी परेको भए त्यसउपर जाँच गर्नेलगायतका कार्यक्रम छन् । असार ४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । असार ५ गते मुख्य दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखहरु मतदाता हुने छन् ।
जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित ९ जना सदस्य चयन हुने छन् । सर्लाहीमा २० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी ४० जना मतदाता छन् । जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस एक्लैलाई पर्याप्त बहुमत छ । १२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको कांग्रेससँग २३ मत छ । माओवादी, एमाले, जसपा र लोसपासँग भने १७ मत मात्रै छ ।
एकल बहुमत रहेको कांग्रेसभित्र जिल्ला समन्वय समितिको नेतृत्वका लागि जगर्नाथ राय, कौशलकिशोर सिंह, विनय कुमार कर्णलगायत आकांक्षी देखिएका छन् ।