logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बरहथवा : ८ जना कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी


  • उज्यालो अभियान

बरहथवा नगरपालिकाको कार्यालय ।

बरहथवा – सर्लाहीको बरहथवामा नगर कार्यपालिका सदस्य निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता भएको छ ।

जेठ २३ गते तय गरिएको कार्यपालिका चुनावका लागि उम्मेदवारहरुको मनोनयन दर्ता कार्य सम्पन्न भएको हो । बरहथवामा ८ जना कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । ५ जना महिला कार्यपालिका सदस्यका लागि १० जना र ३ जना दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले उज्यालो अभियानसँग बताए ।

३ जना दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यका लागि नेकपा एमालेबाट राकेशकुमार बैठा र संजय कुमार साह, नेकपा माओवादी केन्द्रका काशिराम कुश्वार, जनता समाजवादी पार्टी नेपालका ज्योत नारायण ठाकुर, बहुजन एकता पार्टी नेपालका विन्देश्वर प्रसाद धनकार र लोकतान्त्रिक समाजवादी पार्टीका हरिशंकर मण्डल धानुकसहित ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दलित वा अल्पसंख्यकमा नेपाली कांग्रेसका हरिजीन महराले उम्मेदवारी दिएपनि उनले दलित तथा अल्पसंख्यकको प्रमाणित गर्न नसकेपछि उनको उम्मेदवारी रद्ध गरिएको निर्वाचन अधिकृत पंगेनीले जनाए ।

त्यसैगरी, ५ जना महिला कार्यपालिका सदस्यका लागि नेकपा एमालेबाट अनिता कुमारी, रामकुमारी देवी खत्वे, लक्ष्मीनिया देवी, लिला कुमारी कुश्वार र सरिता कुमारी विश्वकर्मासहित ५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला कार्यपालिका सदस्यकै लागि नेपाली कांग्रेसबाट उर्मिला देवी, टीका कुमारी चालिसे, बेलीमाया कुमारी, नेकपा माओवादी केन्द्रबाट ज्ञानुमाया र जनता समाजवादी पार्टीबाट रिंकु कुमारी यादवको उम्मेदवारी परेको छ ।

बरहथवामा एमाले एक्लैको बहुमत रहेकाले उसकै उम्मेदवारहरु कार्यपालिका सदस्यमा निर्वाचित हुने सम्भावना छ । जिल्लामा बरहथवाबाहेक अन्यत्र कार्यपालिकाको चुनाव भइसकेको छ ।

बरहथवामा अन्य पालिका भन्दा ढिलो गरी मतगणना सुरु भई मतगणना सम्पन्न पनि ढिलैगरी भएको थियो । वडा नं. १७ मा पुनः मतदान गराउनु परेकाले त्यहाँ मतगणना ढिलो गरी सम्पन्न भएको हो ।