पत्थरकोट – सर्लाहीको विकट चुरेभेगमा पर्ने नारायण खोलामा यातायात अवरुद्ध भएको छ ।
बिहीबार बिहान भएको भारी वर्षापछि बाढी आएर खोलाको बाटो बिगारेका कारण लालबन्दी बजारदेखि जिल्लाकै कर्णाली भनेर चिनिने नारायणखोलासम्म चल्ने यातायातका साधन ठप्प भएको हो । बाढीले तत्कालै सवारी साधन सञ्चालन हुन नसक्ने गरी खोलाको बाटो भताभुङ्ग पारेको स्थानीयवासीले बताएका छन् ।
नारायण खोलामा अब बर्खायामभरी यातायात सञ्चालन हुने अवस्था नरहेको स्थानीय युवा रोशन दोङले जानकारी दिए । लालबन्दी नगरपालिकाको वडा नं. १४ मा पर्ने नारायण खोलामा हिउँद महिनाभर खोलाको बगरबाट यातायातका साधन सञ्चालन हुने गरेका छन् ।
बर्खा लागेपछि भने त्यहाँ कुनै पनि सवारी साधन सञ्चालन हुँदैनन् । स्थानीयहरुलाई अब बर्खायाम भरी खाद्यान्न खरिद गर्न वा औषधोपचारका लागि लालबन्दी बजार आउन पत्थरकोटसम्म पैदल हिँड्नुपर्ने बाध्यता हुन्छ ।
सिन्धुलीको सीमा नजिकै पर्ने नारायण खोलाको कामिटार, डाइनी शिर, मगने खोला, लखन्ती शिर र तोरीबारीका स्थानीयलाई गाउँदेखि पत्थरकोटसम्म पैदल हिँडेर आउन चारदेखि पाँच घन्टासम्म लाग्ने गरेको छ । लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनाम सिं घिसिङले लालबन्दी बजारबाट नारायण खोला हुँदै सिन्धुलीको मरिणसम्म पुग्ने बसहरु बिहीबारबाट पूर्णरुपमा बन्द भएको उज्यालो अभियानसँग बताए ।
बस व्यवसायी समेत रहेका वडाध्यक्ष घिसिङले बाढी आएर बस गुड्नै नसक्नेगरी खोलाको बाटो सबै बिगारेको बताए । लालबन्दी बजारबाट नारायण खोला हुँदै सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोट, हरिहरपुरगढी गाउँपालिकाको महेन्द्र झ्याडी र बरुणशिरसम्म चारवटा बस सञ्चालन हुँदै आएका थिए ।
खोलाको बगरबाहेक चुरेका निकै ठूल्ठूला पहाड मात्रै रहेकाले नारायण खोलासम्म सडक पु¥याउन नसकिएको यहाँका जनप्रतिनिधिले बताउँदै आएका छन् ।