भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १ र २ लाई जोड्ने गरी बालगंगा खोलामा पक्की पुल निर्माण गर्न सुरु गरिएको छ ।
त्यहाँ बन्ने पुलको बुधबार ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रन्जितादेवी चौधरीले शिलान्यास गरे । पुल निर्माण गर्न ८२ लाख ९३ हजार ५५४ रुपैयाँ ७७ पैसा बजेट विनियोजन गरिएको छ ।
बर्खायाममा बर्सेनि भलबाढीमा हेलिएर खोला वारवार गर्नुपर्ने बाध्यताबाट हैरान भएका स्थानीयवासी पुल बन्ने भएपछि खुसी भएका छन् । पुल नहुँदा दुई वडाका वासिन्दालाई एक वडाबाट अर्कोवडासम्म पुग्न मुस्किल पथ्र्यो ।
त्यस्तै, बाढी आउँदा बालबालिका विद्यालय जान पाउँदैनथे । त्यस ठाउँमा पुल बनाउन यसअघि नै आफूले पहल गर्दा जनप्रतिनिधिले असहयोग गरेको भन्दै नवनिर्वाचित नगरप्रमुख आचार्यले आफू नै जनप्रतिनिधि भएर आएपछि पुल निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर शिलान्यास समेत गरिहालेको बताए ।
पुल निर्माण भएपछि भक्तिपुर र चौलिखा क्षेत्रका नागरिकलाई राहत मिल्ने उनको भनाई छ । गत वर्ष फागुन २९ गते पुल निर्माणका लागि अमृता कष्ट्रक्सन बागमती ५ मकवानपुरसँग सम्झौता भएको थियो भने आगामी असार २५ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने सो सम्झौतामा उल्लेख छ ।