बागमती – सर्लाहीका स्थानीय तहमा कार्यपालिका सदस्यहरुको निर्वाचन धमाधम भइरहेको छ ।
एक–दुई ठाउँबाहेक अधिकांश स्थानमा मतदानमार्फत कार्यपालिका सदस्यहरुको टुंगो लगाउनेक्रम चलिरहेको निर्वाचन अधिकृतहरुले बताएका छन् । प्रत्यक्ष निर्वाचितसहित महिला, दलित र अल्पसंख्यकबाट छानेर कार्यपालिका सदस्यहरु थप गर्नुपर्ने हुन्छ ।
त्यसअनुसार जिल्लाको बागमती नगरपालिकामा हिजो ५ जना महिला तथा दलित सदस्य र ३ जना अल्पसंख्यक सदस्य निर्विरोध चयन गरिएको छ । एक जना दलित सदस्य नेकपा (एकीकृत समाजवादी) लाई दिएर माओवादीले बाँकी ७ जना कार्यपालिका सदस्य आफूले राखेको छ । बागमतीमा माओवादीको स्पष्ट बहुमत छ ।
चन्द्रनगर गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्र एक्लैले हिजो ६ जना कार्यपालिका सदस्य पाएको छ । उसको एकल बहुमत पुगेपछि दलित, महिला र अल्पसंख्यक गरी ६ जना नै माओवादीबाट कार्यपालिका सदस्य चयन भएका हुन् ।
यस्तै, जिल्लाको हरिपुर नगरपालिकामा हिजो नै मतदानमार्फत नै कार्यपालिका सदस्य चयन गरिएको छ । हरिपुरमा मतदानमार्फत कांग्रेसले ६, एमालेले १ र नेकपा (एकीकृत समाजवादी) ले एउटा सदस्य पाएका छन् ।
त्यसैगरी, पर्सा गाउँपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच गठवन्धन गरेर हिजो कार्यपालिका सदस्य बाँडफाँड भएको छ । त्यहाँ समाजवादीले ४ र कांग्रेसले २ वटा कार्यपालिका सदस्य पाएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि हिजो मनोनयन दर्ता भएको छ । पर्सी जेठ १९ गते मतदान गराइने ईश्वरपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लालबन्दीमा कार्यपालिका सदस्यको लागि मनोनयन दर्ता भइसकेको छ भने भोली जेठ १८ गते मतदान हुने छ ।