बलरामा खटिएको स्वास्थ्यकर्मी र कर्मचारीको टोली । तस्बीर : उज्यालो अभियान
मलंगवा – सर्लाहीको बलरामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् ।
गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । बलरा नगरपालिकाको वडा नं. २ हथियौल र वडा नं. ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया अर्थात् औलो देखा परेको थियो ।
ठूलो संख्यामा मलेरियाका बिरामी भेटिएपछि सदरमुकाम मलंगवाबाट किट र औषधिसहित चिकित्सकको टोली गाउँमा खटाएर रगत परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले उज्यालो अभियानलाई जानकारी दिए । डा. झाका अनुसार सबै बिरामीको अवस्था सामान्य नै छ ।
एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्दछ । मलेरियाका बिरामीहरु भेटिएपछि स्वास्थ्य कार्यालय मलंगवाले बलरामा केही दिनअघि देखि लामखुट्टे मार्न घर–घरमा कर्मचारी खटाएर औषधि छिट्ने काम गरिरहेको डा. झाले बताए ।
सरकारले सन् २०२२ भित्र मलेरियाको ‘केश’ शुन्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मुलन नै पार्ने लक्ष्य लिएको अवस्थामा जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा भने २६ जनामा यसको संक्रमण देखा परेको हो । सरकारको लक्ष्यमा नै असर पर्ने गरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयले समेत बलरामा डा. सहितको टोली खटाएर वस्तुस्थितबारे जानकारी लिइसकेको छ ।
ती दुई गाउँबाट अत्यधिक ज्वरो आएका बिरामीहरु प्रादेशिक अस्पताल मलंगवामा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा मलेरिया संक्रमण रहेको पुष्टी भएको हो ।