बरहथवाकी नवनिर्वाचित मेयर कल्पनाकुमारी कटुवाल उद्योग वाणिज्य संघ बरहथवाको सम्मान कार्यक्रममा बोल्दै ।
बरहथवा – सर्लाहीका विभिन्न स्थानका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार फरक–फरक संघसंस्थाले सम्मान गरेका छन् ।
लोकतान्त्रिक आइटीएफ तेक्वान्दो डोजाङले लालबन्दी नगरपालिकाका मेयर, उपमेयर र वडा नं. ५ का वडाध्यक्षलाई सम्मान गरेको छ । डोजाङका अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) को अध्यक्षतामा लालबन्दी ५ मेजरगन्जस्थित डोजाङकै सभा हलमा भएको कार्यक्रममा लालबन्दीका नवनिर्वाचित मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन र वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) लाई खादा ओढाएर सम्मान गरिएको हो । सोही कार्यक्रममा ब्ल्याक बेल्ड तथा प्रमाण–पत्र समेत वितरण गरिएको तेक्वान्दो डोजाङका मधेस प्रदेश अध्यक्ष अन्जना शिवाकोटीले जानकारी दिईन् ।
उता, बरहथवा उद्योग वाणिज्य संघले बरहथवाका नवनिर्वाचित मेयर कल्पनाकुमारी कटुवाल, उपमेयर रामबाबुप्रसाद साह र वडाध्यक्षहरुलाई शनिबार सम्मान गरेको छ । बरहथवा उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु साहको अध्यक्षतामा सम्मान कार्यक्रम गरिएको संघका सदस्य घनश्याम सिंहले बताए ।
त्यसैगरी, सदरमुकाम मलंगवा नगरपालिकाका नवनिर्वाचित मेयर नागेन्द्र प्रसाद यादव, उपमेयर शकुन्तला देवी साह र वडाध्यक्षहरुलाई शुक्रबार नेपाल नेत्रज्योति संघले आँखा उपचार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।