logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा आजबाट मतदान केन्द्रमा कर्मचारी र मतदान सामग्री पठाइँदै


  • उज्यालो अभियान

मलंगवा – आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा आजबाट मतदान केन्द्रहरुमा कर्मचारी र मतदान सामग्री पठाउन सुरु गरिँदै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम मलंगवादेखि अली टाढाका १० वटा पालिकाका मतदान अधिकृतहरुलाई आज मतपत्रबाहेकका अरु सबै मतदान सामग्री जिम्मा लगाएर पठाउन लागेको हो । मलंगवाबाट नजिकका बाँकी १० पालिकामा कर्मचारी खटनपटन तथा मतदान सामग्री भोली मात्रै पठाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले मतदान अधिकृतसहितका कर्मचारीलाई आजबाट नियुक्ति दिएर मतदान केन्द्रमा पठाउन लागिएको बताए । सर्लाहीमा ३१८ वटा मतदानस्थल अन्तर्गत रहेका ५९९ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र कार्यालय सहयोगी गरी झण्डै तीन हजार कर्मचारी परिचालन हुँदै छन् ।

यस्तै, १८ सय जति स्वंयसेवक पनि परिचालन गरिने छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले मतपत्रबाहेक अन्य निर्वाचन सामग्री भोलीसम्म मतदान केन्द्रहरुमा पुगी सक्ने बताए ।

मतपत्र भने बढी संवेदनशील हुने भएकाले विकट मतदान केन्द्रहरुमा २८ गते नभए अधिकांश ठाउँमा २९ गते मात्रै प्रहरीको साथ लगाएर पठाइने भुजेलले जानकारी दिए । निर्वाचनलाई लक्षित गर्दै जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आजबाट जनशक्ति खटनपटनलाई तीव्रता दिँदै छ ।

३० गतेको निर्वाचनबाट सर्लाहीका २० वटा पालिकामा १ हजार ४० जना जनप्रतिनिधि निर्वाचित हुँदै छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सर्लाहीमा ४ लाख ७४ हजार ४३९ जना मतादता रहेका छन् ।