मगलबार दिउँसो सर्लाहीको ईश्वरपुर स्थित बयलवास बजारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भईरहेको झडप । (तस्बिर : उज्यालो अभियान)
बयलवास – सर्लाहीको बयलवास बजार क्षेत्रमा आज(बुधबार) पनि निषेधाज्ञा जारी छ ।
ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट गत आईतबार राती ईश्वरपुर नगरपालिका–५, सखुवनी खुबलाल टोलका रामकुमार महतोको मृत्युको विषयलाई लिएर प्रदर्शन उग्र बनेपछि प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले हिजो(मंगलबार) दिउँसो ३ बजेदेखि आज(बुधबार) साँझ ७ बजेसम्म बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । सोमबार दिउँसोदेखि हिजो(मंगलबार) साँझसम्म तनावग्रस्त बनेको बयलवास बजार क्षेत्रको अवस्था आज(बुधबार) भने शान्तिपूर्ण रहेको छ ।
स्थिती नियन्त्रण बाहिर गएपछि सर्लाहीकाे ईश्वरपुरमा निषेधाज्ञा
बयलवास घटना : एसएसपीको कमाण्डमा थप प्रहरी परिचालन
ईश्वरपुरमा प्रहरीकाे जीपमा आगाे लगाईयाे : प्रहरीद्वारा अश्रुग्याँस प्रहार
प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछि ईश्वरपुर बजार तनावग्रस्त
व्यापारी मृत्यु प्रकरण : बयलवास बजार आज पनि ठप्प
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बयलवास बजार क्षेत्र अहिले सुरक्षानिकायको नियन्त्रणमा रहेको र संभावित खतरालाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाईएको जानकारी दिए । बयलवास बजार क्षेत्रका ठाउँ ठाउँमा सुरक्षाकर्मीको पिकेट राखिएको तथा बाक्लै गस्ती टोली समेत परिचालन गरिएको प्रउ प्रसाईंले जानकारी दिए । ईलाका प्रहरी कार्यालय केशरगंजको टोलीले आज(बुधबार) बिहानैदेखि सर्बसाधारणलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै बयलवास बजार क्षेत्रमा माईकिङ समेत गरिरहेको छ ।
दुर्घटना शंकास्पद रहेको र प्रहरीले घटनालाई ढाकछोप गरेको भन्दै स्थानीयवासी आक्रोशित भइरहेका छन् । बयलवास बजारमा बुधबार पटक–पटक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुवैतर्फका दर्जनौं घाईते भएका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर नेपाल प्रहरीका नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी, प्रहरी निरीक्षक कृष्ण गिरी सहित ३२ जना नेपाल प्रहरीका सुरक्षाकर्मी तथा सशस्त्र प्रहरीका एक दर्जन बढी सुरक्षाकर्मी घाईते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले गुलेली लगायतबाट सुरक्षाकर्मीमाथि दिनभर ढुंगा प्रहार गरेका थिए भने सुरक्षाकर्मीको तर्फबाट पनि दर्जनौं अश्रुग्याँस सहित गोली समेत चलाउनु परेको थियो ।
त्यस्तै भिड अत्यन्त उत्तेजित भएपछि स्थिती नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका १८ वर्षीय संजय महतो घाईते भएका छन् । देब्रे घुँडा मुनी गोली लागेको उनको काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । सुरक्षाकर्मीले बल प्रयोग गर्दा अन्य डेढ दर्जन बढी प्रदर्शनकारी घाईते भएका छन् । प्रदर्शनकारीहरुले पीडित पक्षको तर्फबाट माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा पनि सुरक्षानिकायले दमनशैली अपनाएको आरोप लगाएका छन् भने स्थानीय प्रहरी प्रशासनले भने भिड अत्यन्त अराजक बन्दै लगातार सुरक्षाकर्मीमाथि ढुंगामुढा सहित ईलाका प्रहरी कार्यालयमा समेत आक्रमण भएकाले बाध्य भएर बल प्रयोग गर्नु परेको जनाएको छ । ‘हाँमीले हदैसम्मको लचकता अपनाएका छौं’, प्रजिअ गौतमले भने, ‘सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि प्रदर्शनकारीहरुको तर्फबाट निरन्तर आक्रमण भएपनि ठूलो धनजनको क्षति नहोस् भन्नेमा हाँमी सचेत छौं, पीडित पक्षसँग वार्ताबाटै समस्या समाधानका लागि प्रयासरत छौं ।’
अहिले केहीबेर पछि स्थानीय प्रहरी प्रशासन र पीडित पक्षबीच लालबन्दीमा वार्ताको तयारी गरिएको छ । वार्ताका लागि बयलवासबाट पीडित परिवार सहित अन्य सरोकारवाला प्रतिनिधिहरु लालबन्दीतर्फ हिँडिसकेका छन् भने प्रजिअ गौतम, प्रउ प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ लगायतको टोली लालबन्दी आईसकेको छ ।